कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ।
काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुई वर्षदेखि सञ्चालन भएको सो फार्ममा हाल १ सय १३ वटा सानाठूला भैँसी रहेको संस्थाका प्रबन्धक दीपक प्रकाश आचार्यले बताए। पाँचसय साठी सेयर सदस्य रहेको सो संस्थाको पुँजी तीन करोड र बचत ११ करोड पुगेको छ ।
सो फार्ममा पालिएका भैँसीबाट ३१५ लिटर र संस्थाभन्दा बाहिरका कृषकबाट दैनिक ७०० देखि एक हजार लिटर दूध सङ्कलन गरेर पोखराको नगर क्षेत्रमा दूध बिक्री वितरण हुँदै आएको छ ।
कृषि फार्म सञ्चालनका लागि बृहत् भैँसी स्रोत केन्द्रबाट ४३ लाख ७५ हजार अनुदान प्राप्त भएकामा सो संस्थाले एक करोड ६० लाख लगानी गरेको केन्द्रका प्रबन्धक आचार्यले जानकारी दिए।
मेहनत र परिश्रम गरे स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय सन्देश दिन कृषि फार्म खोलेको प्रबन्धक आचार्यको भनाइ छ । रासस