निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी सेप्टेम्बरमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।
महासंघकी अध्यक्ष भवानी राणाले वैदेशिक लगानी भित्र्याउने वातावरण निर्माणका लागि आगामी सेप्टेम्बरमा लगानी सम्मेलन गर्न लागिएको बताइन्। उनले भारतका उद्योगी÷व्यवसायीहरुको समेत सहभागितामा आयोजना हुने सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन झनै सहज वातावरण बनाउने विश्वास पनि व्यक्त गरिन्।
सम्मेलनमा भारतीय वाणिज्य मन्त्री समेत सहभागी हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । उद्योग वाणिज्य महासंघ, सुर्खेतले विहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गरेर आर्थिक गतिविधिलाई तीव्र बनाउने योजना सुनाइन्।
उनले कृषि, पर्यटन, उर्जा र जुडिबुटी नेपालको समृद्धिको मुख्य आधार भएकाले सोही क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।
महासंघले प्रदेश नम्बर ६ मा जडिबुटी र जलस्रोतको विकास गर्न लागि पर्ने प्रतिवद्धना पनि जनाएको छ । अध्यक्ष राणाले उद्योगी÷व्यवसायीहरुलाई पर्यटन क्षेत्रको विकासमा लगानी गर्न पनि आग्रह गरिन्।