यहाँको एक कृषि समूहले वार्षिक १५ लाख बराबरको तरकारी उत्पादन गर्दै आएको छ ।
गलकोट नगरपालिका–११ रिघाको मिलिजुली कृषि समूहले तरकारी खेतीमा व्यावसायिक सफलता पाएको हो । एकै याममा पाँच÷छ लाखको तरकारी बेच्ने गरेको समूहका अगुवा किसान जितबहादुर रानामगरले बताए।
समूहमा चारजना किसान आबद्ध रहे पनि मुख्य जिम्मेबारी रानामगरको काँधमा छ । “शुरुमा रु नौ लाख लगानी ग¥र्यौं, अहिले लगानी बढेर २५ लाख पुगेको छ”, रानामगरले भने।
१२ वटा प्लास्टिक घर (टनेल)मा मौसमी÷बेमौसमी सबैखाले तरकारी उत्पादन हुने गरेकोे छ । समूहले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट १० लाख अनुदानसमेत पाएको छ । उक्त अनुदान रकमबाट तरकारी खेती विस्तार गर्दै जाने योजनामा समूह लागिपरेको छ ।
यही वर्ष थप उच्चस्तरीय प्रविधिको प्लास्टिक घर (टनेल) थपेको समूहका अर्का किसान शेरबहादुर श्रीशले बताए। व्यावसायिक कृषि तथा व्यापार आयोजनाको अनुदानबाहेक अन्य निकायबाट कुनै पनि सहयोग नपाएको उनको भनाइ छ ।
समूहले मुख्यगरी गोलभेँडा, काउली, बन्दा, सिमी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन गर्दै आएको छ । कृषिको व्यावसायिकीकरणमा समूहले राम्रो उदाहरण दिएको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए।
“आफ्नै पहलमा किसानले ठूलो लगानी गरेका छन् , हामी पनि उनीहरुलाई प्रेरित गर्न खोजिरहेका छौँ”, अधिकृत आचार्यले भने, “व्यावसायिक किसानलाई कार्यालयबाट पनि राम्रो सहयोग हुन्छ ।”
कृषि विकास मन्त्रालयले ल्याएको कृषि तथा व्यापार आयोजनाबाट जिल्लाका कृषितर्फ सात र पशुपालनतर्फ १४ जनाले रु १० लाखका दरले सरकारी अनुदान पाएपछि किसान पनि उत्साहित हुँदै परम्परागत खेतीमा उच्च प्रविधि अपनाएर उत्पादन बढाउनेतिर लागिपरेका छन् । रासस