जङ्गलमा पाइने अल्लो आयआर्जनको भरपर्दो स्रोत बन्न थालेको छ । उच्च पहाडी क्षेत्रमा पाइने अल्लो लोकप्रिय बन्दै गएपछि व्यावसायिक उत्पादनतर्फ आर्कषण बढेको छ । गुरुङ समुदायले भाङ्ग्रालगायत सामग्री बनाउन मात्र प्रयोग गर्ने अल्लोको पछिल्ला दिनमा व्यावसायिक उत्पादन हुन थालेको छ ।
अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, टाईलगायत सामान बनाउने गरिएको छ । जिल्लाका सिउरुङ, घलेगाउँ, भुजुङ, गौँडा, घेर्मुलगायत ठाउँमा अल्लो प्रसस्त पाइन्छ । यी गाउँमा घुम्न आउने पर्यटकलाई अल्लोबाट उत्पादित सामान बिक्री गरी स्थानीयले आम्दानी गर्दै आएका छन् ।
तर पछिल्लो समय सदरमुकाममा बस्दै आएका केही उद्यमीले व्यावसायिक रुपमा अल्लो प्रशोधन गरी मनग्य आम्दानी गर्न थालेका छन् । चर्खा, तानलगायत औजार खरिद गरी व्यावसायिक रुपमा अल्लोको सामग्री उत्पादन गर्ने गरेका छन् ।
आफूले जानेको सीपबाट सामान्य उत्पादन गर्दासमेत भ्याइनभ्याइ भएको उद्यमी पार्वती गुरुङ बताउछिन्। क्षमता अभिवृद्धि र सामूहिक लगानी बढाउन सके अल्लोबाट उत्पादित सामग्रीले अन्तर्राष्ट्रिय बजार पाउने उनको विश्वास छ ।
“आफ्नै पहुँचमा काठमाडौँ, पोखरालगायत शहरमा अल्लोको सामग्री निर्यात गर्ने गरेको छु” उनले भनिन् “यसलाई संस्थागत गर्न सके राम्रो सम्भावना छ ।”
मागअनुसार अल्लोको सामग्री उत्पादन गर्न नसकिएको अल्लो उद्यमी विष्णु गुरुङले बताउछन्। आफूले व्यवसायबाट राम्रो आम्दानी गरे पनि भनेजस्तै व्यावसायिक हुन नसकेको उनको भनाइ छ ।
“अल्लो प्रशोधनलाई भनेजस्तै व्यावसायिक बनाउन सकिएको छैन” गुरुङले भने,“अल्लोको उत्पादनलाई संस्थागत पहलमा व्यावसायिक बनाउन र प्रवद्र्धन गर्नसके पर्याप्त आम्दानी गर्न सकिन्छ ।”
अल्लोको कपडा स्थानीय बजारमा प्रतिमिटर एक हजार २५० पर्छ । घरको काम भ्याएर पनि स्थानीय महिलाले मासिक १५ हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । गाउँमा उत्पादित अल्लोका सामग्री बजार पुग्न नपाउँदै बिक्री हुने व्यवसायीको भनाइ छ ।
अल्लोको राम्रो सम्भावना भएकाले लमजुङ उद्योग वाणिज्य सङ्घले एक गाउँ एक उत्पादनअन्तर्गत अल्लो छनोट गरेको हो । स्रोत सम्भाव्यतालाई पुनः अध्ययन गरी तयारीका साथ व्यावसायिक अल्लो प्रवद्र्धन गर्ने सङ्घका अध्यक्ष राजेश थापाले बताए। विदेशी बजारलाई लक्षित गरी अल्लो प्रवद्र्धन कार्यक्रम ल्याउने उनको भनाइ छ । गाउँघरमा त्यतिकै खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग नै सञ्चालन गर्न सके रोजगार सिर्जना हुने व्यवसायी बताउँछन् । रासस