नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ घटाएको छ। यसअघि दैनिक ४ घन्टासम्म हुँदै आएको लोडसेडिङ अब तीन घन्टामा सीमित पारिएको प्राधिकरणले जानकारी दिएको छ।
विद्युतको आपूर्ति र मागअनुसार घरायसीसँगै औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ कम गर्दै जाने नीतिअनुसार प्राधिकरणले उद्योगमा लोडसेडिङ घटाइएको हो। असार ३० गतेदेखि लागू हुनेगरी देशका विभिन्न औद्योगिक क्षेत्रमा हुने लोडसेडिङको सूचना प्राधिकरणले निकालेको छ।
प्राधिकरणका अनुसार ढल्केवरदेखि भरतपुरसम्मका औद्योगिक ग्राहकहको लोडसेडिङ हरेक दिन बेलुका ७ बजेदेखि १० बजेसम्म हुनेछ।
त्यस्तै ढल्केवारबाट पूर्व भरतपुरदेखि पश्चिम क्षेत्रका तथा नेपाल सरकारको औद्योगिक क्षेत्रका ग्राहकको लोडसेडिङ हरेक दिन ६ः३० बजेदेखि ९ः३० बजेसम्म हुनेछ।
यसअघि प्राधिरकणले असारभित्र औद्योगिक क्षेत्रमा नियमित बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो। भनेजति भारतबाट आयात गर्न नसक्दा सो घोषणा भने कार्यान्वयन भएको छैन।
औद्योगिक क्षेत्रमा लोडसेडिङ घटेकोमा निजी क्षेत्र उत्साहित भएको छ। औद्योगिक क्षेत्रको सबैभन्दा ठूलो समस्या नै उर्जा अभाव भएको र गएको वर्षदेखि बिजुली आपूर्ति केही नियमित भएकोले राहत भएको उद्योगीहरू को भनाइ छ।
जेनेरेटर चलाउँदा एकातिर लागत बढ्ने अर्कोतिर उद्योगको क्षमताभन्दा निकै कम उत्पादन हुने भएकाले लोडसेडिङ घट्नु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए।
‘गत वर्ष घटेको लोडसेडिङले हाम्रो उत्पादन १० प्रतिशतले बढेको थियो कुल ग्राहस्थ उत्पादनभन्दा बढी वैद्धि थियो हाम्रो’ गोल्छाले भने,‘यसले हामीलाई राहत दिएको छ। सायद अब औद्योगिक क्षेत्रमा लोडसेडिङ बढ्दैन होला।’
औद्योगिक क्षेत्रमा अब २१ घन्टा बिजुली आपूर्ति हुने जसले गर्दा उद्योगहरु प्राय २ सिफ्टमा चल्ने गोल्छाको विश्वास छ।
अघिल्ला वर्षहरुमा दैनिक १८ घन्टासम्म हुने लोडसेडिङ खेपेका उद्योगहरुले १६ घन्टा बिजुली पाएका थिए। त्यसले औद्योगिक क्षमताको उपयोग ५४.२ प्रतिशत पुगेको थियो। अघिल्लो वर्ष यस्तो उपयोग ३९ प्रतिशतमात्र थियो।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार चालु आर्थिक वर्षको ६ महिनामा औद्योगिक क्षेत्रको वृद्धिदर १० प्रतिशत रहेको थियो। यो वर्ष वनस्पति घिउ तथा तेल, प्रशोधित दूध, अन्न तथा पशुदाना, हल्का पेय पदार्थ, कपडा, सिमेन्ट, इँटा, फलामको छड तथा पत्ति, जुत्ता आदिको उत्पादन बढेको थियो।