नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्न यही साउन १९ र २० मा दोश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्ने भएको छ।
सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल गर्ने आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्य ज्योतिले जानकारी दिए। सम्मेलनबाट व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि नयाँ कानूनको कार्यान्वयनमा टेवा पुग्ने ज्योतिको विश्वास छ।
सरकारले नयाँ औद्योगिक व्यवासाय ऐन २०७३ र नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमा तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने उद्योग व्यवसाय र वित्तिय संस्थाहरुमा व्यवसायिक सामाजिक उत्तरदायित्वलाई बाध्यकारी बनाएको छ।
प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त सम्मेलनमा आन्तरिक व्यवसायिक अभ्यास, सरोकारावाला परिचालन, सबल साझेदारी, प्राध्यापन तथा नियमन, जस्ता विषयमा छलफल हुने बताइएको छ।
वक्ताहरुमा विभिन्नसाना तथा मझौला उद्योग व्यवसायसहित औद्योगिक व्यवसायिक समूहहरुमा ज्योति समूह, वैद्य समूह, पञ्चकन्या समूह, गोल्छा समूह, नेपाल उद्योग वाणिज्य महासंघ आदि छन् । त्यसैगरी सरकारी निकायतर्फबाट उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विद्युत प्राधिकरण रहेका छन् भने नागरिक समाज तर्फ श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन् ।
सम्मेलनको मुख्य प्रायोजकहरुमा एनसेल, ज्योति समूह–होन्डा, साम्सुंग, नेपाल इन्भेष्टमेन्ट बैंक लि, नेपाल इकरात इन्जिनियरिंग प्रा लि र वल्र्डलिंक रहेका छन् । त्यसैगरी विभिन्न सत्रहरुको प्रायोजकमा प्रभु बैंक, मनकामना दर्शन प्रा लि, नेपाल आयल निगम, मोबाईल विक्रि संघ, शिखर इन्सुरेन्स, हिमाल पावल लि र सिम टिभि प्रा लि रहेका छन् ।