नेपालको उड्ययन क्षेत्रलाई आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन) ले सुरक्षा सूचीबाट हटाएको छ। आइकाओले नेपालको उड्ययन क्षेत्रलाई सुरक्षाको आधारमा ६६ औं सूचीमा राखेको छ। ६० औं सूचीबाट तल भएकालाई आइकाओले आधारभूत रुपमा सुरक्षित र सुधारिएको उड्ययन भनेर व्याख्या गरेको छ।
नागरिक उड्ययन प्राधिकरणले एक पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जानकारी दिएको हो। यसअघि जुलाई ४ देखि ११ सम्म आइकाओको एक टोलीले नेपालको उड्ययन क्षेत्रको अध्ययन गरेको थियो।
यूरोपियन युनियनको कालोसूचीबाट हट्न आइकाओको सुरक्षा सूची पनि महत्वपूर्ण आधार भएकाले कालोसूचीबाट हट्नका लागि यसले सघाउ पुग्ने प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए। अब युरोपियन युनियनलाई कालोसूचीबाट हटाउनका लागि आग्रहसहित पत्राचार गर्ने उनले जानकारी दिए।
सो अवसरमा प्राधिकरणका उपमहामनिर्देशक राजन पोखरेलले आइकाओको सूचीबाट नेपालको उड्ययन क्षेत्र माथि उक्लिएकाले चाँडै नै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरे।
आइकाओको सूचीमा माथि उक्लिए पनि नेपालका जहाजलाई युरोपको आकासमा प्रतिबन्ध भने हटेको छैन। २०७० मंसिरदेखि युरोपियन युनियनले नेपाली जहाजलाई युरोपको आकासमा प्रतिवन्ध लगाएको छ।
यहाँको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको हो। जसले गर्दा उड्ययन क्षेत्रमा बिग्रिएको नेपालको छवि उज्यालो हुन सकेको छैन।