हिमालय एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा प्रत्यक्ष उडान गर्ने भएको छ। सेप्टेम्बर १(भदौ १६)देखि काठमाडौं–दमाम फहाद इन्टरनेसनल विमानस्थलमा दैनिक उडान गर्ने हिमालयले जानकारी दिएको छ।
नेपालबाट साउदी अरबमा प्रत्यक्ष हवाई सम्कर्प यो पहिलोपटक हुने छ। यसअघि नेपालबाट साउदी जान सयुक्त अरब इमिरेट्सको विमानस्थलमा ट्रान्जिट गरेर जाने बाध्यता थियो।
हिमालयले भने काठमाडौंबाट दमाममा सिधै उडान गरेसँगै नेपालीहरु साउदी जान सिँधै जान पाउने छन्।
नेपालीहरुको लोकप्रिय श्रम गन्तव्यको रुपमा रहेको साउदी अरबमा जानेहरुलाई ट्रान्जिटबाट जाँदा यात्रा झन्झटिलो भएको थियो। स्वदेशी एयरलाइन्सबाट प्रत्यक्ष उडान गरेपछि एकातिर भाडा पनि सस्तो हुने अर्कोतिर सहज पनि हुने एयरलाइन्सका अधिकारीको विश्वास छ।
सन् २०१४ मा स्थापित हिमालयसँग एरबस ‘ए३२०–२१४’ सिरिजका तीनवटा जहाज रहेका छन्। जसमा हाल कतारको दोहा, मलेसियाको क्वालालम्पुर, म्यानमारको याङगुन र दुबईमा नियमित सिधा उडान गरिरहेको छ । भदौ १६ गतेदेखि काठमाडौं– दमाम सिधा उडान गर्ने हिमालयको उडान तालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति साढे १० बजे उड्ने छ भने दमाममा १२ः५० मा पुग्ने छ। त्यस्तै दमामबाट १ः५० मा उड्ने र विहान ९ः१५ मा काठमाडौं आइपुग्ने छ।