सुनसरीका विभिन्न खोलामा आएको बाढीका कारण दुहवी नगरपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको पूर्वी प्रसारण ग्रिडमा समस्या आएको छ ।
उपकरण डुबानमा परेपछि विद्युत् प्रसारण अवरुद्ध छ । विद्युत् प्रवाहमा समस्या भएपछि औद्योगिक क्षेत्र, व्यापार व्यवसाय, सञ्चार तथा खानेपानीलगायत क्षेत्र नराम्ररी प्रभावित बनेको छ । अर्बौं रुपैयाँको नोक्सानी भएको छ । उद्योग कलकारखाना बन्द छन् ।
इटहरी दुहवी औद्योगिक क्षेत्रका प्रायः उद्योगमा बाढी पसेपछि अर्बौं रुपैयाँ बराबरको कच्चा पदार्थ नोक्सान भएको छ । राष्ट्रिय प्रसारण लाइनमा समस्या सिर्जना भएपछि अझै दुई दिनसम्म विद्युत् प्रवाह हुन नसक्ने सो ग्रिडका प्रमुख आफताव आलमले जानकारी दिए।
बाढीले विद्युत् प्रसारण लाइनसँगै इलाम कावेली करिडोरको टावर ढलेर सानीमा पावर हाउससमेत बन्द हुँदा पूर्वी पहाडी क्षेत्रमा विद्युत् प्रसारण बन्द हुँदा प्राधिकरणले दैनिक तीन करोडभन्दा बढी नोक्सानी भइरहेको बताइएको छ। रासस