म्याग्दीकाे बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।
दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग स्थापना गरेका हुन्। रघुगंगा गाउँपालिका–३ पिप्लेका खोजेन्द्रबहादुर मल्लले मुग्लानी क्लोथ एण्ड ह्याण्डीक्राफ्ट उद्योग खोलेका छन्।
उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवालाई प्रशोधन गरी कपडा उत्पादन गर्ने उद्योग स्थापना गरेको मल्लले बताए। इपिएस भिसामा पाँच वर्ष दक्षिण कोरियामा काम गरेर गतवर्ष स्वदेश फर्किएका मल्लले स्थानीयस्तरमै स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालन गरेको बताए।
पहिलो चरणमा अल्लो प्रशोधनको काम शुरु गरेको उद्योगबाट नेपाली हाते कागज र बाँसको सामान पनि उत्पादन गर्ने योजना रहेको छ । प्रबन्ध सञ्चालक मल्लका अनुसार हालसम्म कच्चा पदार्थ खरिद र प्रशोधनका लागि करिब छ लाख लगानी भएको छ ।
“पुँजीवृद्धी, आधुनिक औजारको प्रयोग गरेर व्यवस्थित रुपमा उद्योग सञ्चालन गर्ने तयारी भएको छ” मल्लले भने “अहिले परम्परागत रुपमा गरिँदै आएको कामलाई औजार ल्याएपछि आधुनिक बनाउछौँ ।” औजारको प्रयोग गरेपछि उत्पादन वृद्धि र लागत घट्ने जनाइएको छ ।
उद्योगमा बेनी नगरपालिका दुई बगरफाँटका १५ जनाले रोजगारी पाएका छन् । गुर्जा, मुदी, लुलाङ, कुइनेमंगले, मल्कवाङ, ओखरबोट, देविस्थान, दरवाङलगायत उच्च पहाडी क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा संकलन गरेर धागो र कपडा बनाउन शुरु गरिएको छ ।
अल्लो पुवा प्रशोधन गरेर तयार पारिने धागोबाट कोट, झोला, आउटर, सल, थान्का लगायतका सामग्री उत्पादन गर्न सकिन्छ ।
काठमाडाँै, पोखरा, चितवन, मुस्ताङलगायत पर्यटकीय स्थल, सहरी क्षेत्र र विदेशी बजारमा अल्लो पुवाको सामान बिक्री हुने गरेको छ । गर्मीमा शीतल, जाडोमा न्यानो र टिकाउ हुने भएकाले विशिष्ठ व्यक्तिले अल्लोको कपडा प्रयोग गर्ने क्रम बढेको छ ।
बेनीमा अल्लोको कपडा निर्माण गर्दै आएकी उद्यमी नेकसरा पुनले अल्लो प्रशोधनका लागि जिल्लामा हालसम्मकै ठूलो क्षमत्ताको उद्योग सञ्चालन भएको बताइन् ।
उद्योगमा कार्यरत बेनपा–२ की बिना शाहीले उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर मिलेको बताइन् । उद्योगले महिला र पुरुषका लागि समान ज्याला दिने गरेको छ । खाजाको व्यवस्था गरिएको र दैनिक ५०० ज्याला दिने गरिएको छ । आफूहरुका लागि चर्खाबाट धागो र तानमा कपडा बुन्ने सीपमूलक तालीमको आवश्यकता रहेको मजदुरले बताएका छन् । रासस