विगत केहि दिनदेखि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा साइबर आक्रमण भएको विषयलाई लिएर प्राविधिकहरुले सुचना सुरक्षामा पर्याप्त लगानी नभएका कारण यस्तो अवस्था आएको प्रतिक्रिया दिएका छन्।
बैकिङ्ग क्षेत्रमा भएको ह्याकको विषयमा सूचना प्रविधिको क्षेत्रमा सूरक्षा र जनचेतनाको कार्य गरिरहेको यस इन्र्फमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले गम्भिर ध्यानाकर्षण भएको बताएको छ।
हालैमात्र भएका श्रृखलाबद्ध उक्त घटनाक्रमले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रस्ट भएको समाजले जनाएको छ।
सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीलाई संस्थाको विकासको आधारको रुपमा लिनुपर्नेमा खर्चको रुपमा लिने गरिएको र पर्याप्त मात्रामा लगानी नहुँदा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु तथा उपकरणहरुको प्रयोगले यस्तो जोखिमलाई झनै बढाएको संस्थाको ठहर छ ।
सूचना प्रविधिले दैनिक क्रियाकलापलाई सहज बनाईरहेको समयमा यसमा गर्नुपर्ने पर्याप्त आवश्यक लगानी नगरिनु र त्यसको लागि आवश्यक जनशक्तिको विकासमा ध्यान नदिने हो भने आगामी दिनमा झनै ठुला घटना हुनसक्नेतर्फ समाजले ध्यानाकर्षण गराएको छ।
यस्तो समस्यालाई समाधान गर्दै भविष्यमा हुने क्षति रोक्नका लागि जनचेतना अभिवृद्धि गर्दै आवश्यक प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने समाजको सुझाव छ।