मोटोरोला नाम सुन्नासाथ दुई परिचय एकसाथ आउने गर्छ– ‘पहिलो मोबाइल फोन बनाउने कम्पनी’ र ‘फोल्डेबल सेट’।
सन् १९७३ मा कम्पनीका इन्जिनियर मार्टिन कुपर तथा उनको टिमले संसारको पहिलो हाते सेलुलर फोन बनाएको थियो। १.१ केजी वजन भएको यो फोनबाट ३० मिनेटसम्म कुरा गर्न मिल्थ्यो भने फुल चार्ज गर्न १० घण्टा समय लाग्ने गर्थ्यो।
त्यसको करिव दश वर्षपछि मोटोरोलाले नै संसारकै पहिलो व्यवसायिक फोन ‘डाइना टेएसी ८०० एक्स’ तयार पार्यो। यो सेटले ३० वटा फोन नम्बर स्टोर गर्न सक्थ्यो भने ६ घण्टाको ब्याट्री ब्याकपसहित ३० मिनेटको टक टाइम सेवा दिने गर्थ्यो। फोनको मूल्य ३ हजार ९ सय ९५ डलर राखिएको थियो।
त्यस्तै सन् १९९७ मा फोल्डेबल फोन भित्र्याएपछि व्यापारले गति लियो। पुन २००४ मा ‘रेजर भी ३’ मोडलको फोन सार्वजनिक गरेपछि सोही सिरिजलाई निरन्तरता दिइयो।
कम्पनीका फोल्डेबल रेजर सिरिजका फोनहरु निकै लोकप्रिय थिए। यो समयमा नोकिया, ब्ल्याकबेरी, सामसङ जस्ता कम्पनी मोटोरोलाका बलियो प्रतिस्पर्धीका रुपमा बजारमा स्थापित भइसकेका थिए। सन् २००४ देखि २००७ सम्म फोनको व्यापार निकै आक्रामक थियो।
त्यस पछिको समयमा अन्य ब्राण्डझैँ समयाअनुकुल तथा परिष्कृत प्रविधिमा फोनलाई लैजान नसक्दा लगातार घाटामा जान पुग्यो। कारण, माटोरोला मूलत हार्डवेयरमा प्रविधिमा रहेर फोन निर्माण गर्ने कम्पनी थियो तर तत्कालीन समयमा बजार भने सफ्टवेयर उन्मुख हुँदै गएको थियो। झन् २००८ मा आइफोन आएपछि भने यसले समग्र मोबाइलको परिभाषालाई बदलिदियो।
आइफोनले मोबाइललाई ‘पकेट कम्युटर’ को अवधारणामा ढाल्ने काम गर्यो। आज हामीले देख्ने सबै कम्पनीका फोनहरु सोही अवधारणामा केन्द्रित छ। सन् २००७ देखि २००९ सम्म ४.३ बिलियन अमेरिकी डलरको घाटा व्यहोर्दै २१ प्रतिशत बजार हिस्सा ६ प्रतिशतमा खुम्चेपछि भने कम्पनीलाई ‘मोटोरोला सोलुसन’ र ‘मोटोरोला मोबीलिटी’ दुई कम्पनीमा विभाजन गरिएको थियो। त्यसमध्ये अब उप्रान्त एन्ड्रोइड फोन उत्पादनको जिम्मा पाएको मोटोरोला मोबीलिटीलाई सन् २०११ मा गुगलले किनेको थियो।
सन् २०१४ मा पहिलो एन्ड्रोइड फोन ‘मोटो जी’ लिएर फर्केपछि भने लगभग शून्यमा रहेको कम्पनीको व्यापारले आकार लिन थाल्यो। त्यसै वर्ष चिनियाँ स्मार्टफोन तथा ल्यापटप पावरहाउस लेनोभोले किनेपछि ‘मोटो’ सिरिजमा यसै कम्पनीले नै मोटोरोलाको उत्पादन तथा विक्री गर्दै आएको छ। अमेरिका, ब्राजिल र भारत कम्पनीको मुख्य बजारहरु हुन भने यसले करिब ५ प्रतिशत हिस्सा विश्व बजारमा ओगटेको छ।
नेपालमा मोटोरोला ब्राण्डको वितरण गर्ने जिम्मा लाइफकमलाई दिइएको छ। यो लेनोभो ब्राण्डको समेत आधिकारिक वितरक रहँदै आएको छ। कम्पनीले कात्तिकको पहिलो हप्ता औपचारिक रुपमा यी स्मार्टफोन नेपाल भित्र्याएको हो। हाल बजारमा ‘सी’ र ‘इ’ सिरिज मोडलका मोटोरोलाका सेटहरु सार्वजनिक गरिएको छ। एक वर्षभित्रमै प्रमुख तीन मोबाइल कम्पनीमा मोटोरोलालाई उभ्याउने लक्ष्य राखिएको मोटोरोला मोबीलिटी तथा लेनोभो मोबाइल बिजनेस ग्रुप नेपालका ‘कन्ट्री म्यानेजर’ सुधिन मथुरले बताए।
उनले भने, ‘हामी जहाँ गएका छौँ, त्यहाँ ब्राण्डलाई राम्रो पोजिसनमा पुर्याएका छौँ। नेपालमा पनि हामी सोही लक्ष्य लिएर आएका छौँ।’ उनले ‘जि’, ‘एक्स’ तथा ‘जेट’ सिरिजका मोटोरोलाका फोनहरु पनि छिटै सार्वजनिक गर्ने योजना रहेको उल्लेख गरे।
हाल कम्पनीले नेपाली बजारमा ४ नयाँ बजेट फोनहरु लिएर प्रवेश गरेको छ। जसमा १० हजार ९ सय ९० रुपैयाँको मोटो सीदेखि २० हजार ९ सय ९० को मोटो इ ४ प्लससम्म अटाएका छन्। यी फोन मध्यम मूल्यका फोन खोज्ने प्रयोगकर्ता लक्षित छन्। यिनमा एक वर्षको र ब्याट्री तथा चार्जरमा ६ महिनाको वारेन्टी दिइएको छ।
तर मोटोरोलालाई नेपाली बजारमा प्रतिस्पर्धा गर्न सहज नभएको विश्लेषण गर्छन् विगत १२ वर्षदेखि व्यापारमा संलग्न रहेका सागर गौतम।
पुल्चोकस्थित प्राइम मोबाइल स्टोरका सञ्चालक समेत रहेका गौतमले भने, ‘प्रयोगकर्तासँग धेरै विकल्प छन्। सोही सेगमेन्टमा अन्य धेरै कम्पनीका विविध फिचर्स भएका फोनहरु पाइन्छन्। मोटोरोला किन किन्ने?’
उनले फोनको सबल पक्षका रुपमा ब्याट्री र पर्फमेन्सलाई लिन सकिने भएपनि क्यामेरा र इन्टरनल स्टोरेज भने कमजोर भएको बताए। अहिलेको समयमा ब्याट्री मात्रैले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ। ‘ब्याट्री ब्याकप र फास्ट छ भने प्रयोगकर्ताहरुको रोजाईमा पर्न सक्छन् तर उत्कृष्ट रियर तथा सेल्फी क्यामेरा, स्ट्रङ इन्टरनल स्टोरेज लगायतका फिचर्स पनि राम्रा हुनुपर्ने प्रतिस्पर्धाका लागि मुख्य सर्त हो’ उनले भने। प्रयोगकर्ताका लागि मोटोरोलाका यी फोनले उत्साह दिन सक्नेमा आफू विश्वस्त नभएको उनले बताए।
कस्ता छन् यी फोनहरुका विशेषता ?मोटो सीयो मोडल ब्राण्डको सबैभन्दा सस्तो फोन हो। यसको मूल्य १० हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च टिएफटी डिस्प्ले भएको यसमा १.१ गिगाहर्ज क्वाडकोर ६४ बिट मिडियाटेक प्रोसेसर छ।
एन्ड्रोइड ७ नोगट भर्सनको अपेरेटिङ सिस्टमको फोनमा १ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। त्यस्तै फोनमा एलइडी फ्ल्यासहितको ५ मेगापिक्सेलको रियर (पछाडितर्फको) र २ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। फोनमा २ हजार ३५० एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ।
मोटो सी प्लसयसको मूल्य १३ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च एचडी टिडिटी एलसिडी डिस्प्ले भएको फोनमा १.३ गिगाहर्ज क्वाडकोर र ६४बिट मिडियाटेक प्रोसेसर समावेश गरिएको छ।
एन्ड्रोइड ७ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको यस फोनमा २ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। त्यस्तै फोनमा एलइडी फ्लयास्सहितको ८ मेगापिक्सेलको रियर (पछाडितर्फको) र २ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।
फोनमा ४ हजार एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ।
मोटो इ ४यसको मूल्य १६ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च एचडी आइपिएस डिस्प्ले छ। १.३ गिगाहर्ज क्वाडकोर ६४ बिट मिडियाटेक प्रोसेसर छ।
एन्ड्रोइड ७.१.१ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको फोनमा २ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। एलइडी फ्लेयासहितको ८ मेगापिक्सेलको रियर (पछाडितर्फको) र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। ‘फास्ट चार्जिङ’ सुविधासहितको २ हजार ८०० एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ।
मोटो इ ४ प्लसयसको मूल्य २० हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। २.५ कर्भड् ग्लाससहतिको ५.५ इन्च एचडी डिस्प्ले भएको फोनमा १.१ गिगाहर्ज क्वाडकोर र ६४बिट मिडियाटेक प्रोसेसर समावेश छ।
एन्ड्रोइड ७.१.१ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको यसमा ३ जीबी र्याम तथा ३२ जीबी क्षमताको इन्टरनल स्टोरेज क्षमता छ। अटोफोकस, एलइडी फ्ल्यास्सहितको १३ मेगापिक्सेलको रियर (पछाडितर्फको) र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।
फोनमा फास्ट चार्जिङ सुविधाका साथ ५ हजार एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ भने फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ।
यी सबै मोडलका फोनहरुले फोरजी सपोर्ट गर्छन्।