ओप्पोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफ फाइभ कात्तिक २८ गते सार्वजनिक गर्ने भएको छ। सार्वजनिक कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन जनाको सहभागिता हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २९ गतेदेखि बजारमा उपलव्ध हुनेछ।
नेपाल आइडलका उत्कृष्ट तीनको सन्देश सहितको भिडियो मार्फत कम्पनीले आधिकारिक फेसबुक पेजमार्फत लाइक तथा सेयर क्याम्पेनको पनि घोषणा गरेको छ। नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो लाइक तथा सेयर गर्ने मध्यबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफफाइभ सार्वजनिक गर्ने समारोहमा आकर्षक उपहार दिने जनाएको छ। उक्त क्याम्पेन आज बुधबारदेखि आइतबारसम्म चल्ने छ।
एफ फाइभ नेपालमा यो ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हो। उच्च रिजोल्यूशनका कारण उत्कृष्ट दृष्यानुभुति प्रयोगकर्ताले पाउने कम्पनीको दावी छ।
फ्रन्ट क्यामेरामा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखी पहिलो पटक आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ। यो प्रविधिले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउने ओप्पोको विश्वास छ।
नेपालमा उपस्थित फोनमध्ये पहिलो पटक एफ फाइभको फ्रन्ट क्यामेरामा एआई प्रविधि समाहित भएको ओप्पोको दावी छ। फोनमा दुई सिमकार्ड प्रयोग गर्न मिल्छ।
प्राइमरी क्यामरा १६ मेगापिक्सल तथा सेकेन्डरी क्यामरा २० मेगापिक्सलको छ। ३२ सय एमएएच पावरको नन रिमुभेवल ब्याट्री यसमा समाहित छ। ४ र ६ जिबी र्याममा उपलव्ध फोन विश्व बजारमा कालो, सुनौलो र रातो रङ्गमा उपलव्ध छ।