डिजिटल प्रशारणमा जान सरकारले दिएको म्याद सकिएपछि काठमाडौं तथा ललितपुर महानगरका २० लाख टेलिभिजनको प्रशारण रोकिएको छ।
सूचना तथा संचार मन्त्रालयले एनालग प्रविधिका केबल कम्पनीहरुको अनुगमन गरी प्रशारण रोकेको हो। मन्त्रालयले बुधबार र बिहीबार गरेको अनुगमनपछि ११ कम्पनीको प्रशारण रोकिएको छ।
बुधबार ८ र बिहीबार ३ कम्पनीको प्रशारण रोकिएको मन्त्रालयकी उपसचिब संगिता ओझाले जानकारी दिइन्। यसरी प्रशारण रोकिएका कम्पनीहरुमा सुबिसु, सोनिङ, जावलाखेल, स्पेस टाइम, सिइसी, स्काई, काठमाडौं, काष्ठमण्डप, सुदरर्शन, ओएसएन लगायत केबल प्रशारण रहेका छन्।
मन्त्रालयले यसअघि कात्तिक १५ गतेसम्म सबै टेलिभिजनहरुलाई डिजिटल प्रविधिमा जान आग्रह गर्दै त्यसको १५ दिनपछि प्रशारण बन्द गरिने सूचना जारी गर्दै आएको थियो।
एनालग प्रविधिलाई डिजिटलमा लैजान उपभोक्ताले सेट टप बक्स जडान गर्नुपर्दछ। प्रशारण रोकिएका टेलिभिजनको संख्याअनुसार अब २० लाख बक्सको माग रहेको छ।
प्रशारण रोकिँदा २० लाख परिवारको सूचना हक वञ्चित भएको भन्दै व्यवसायीहरुले भने एकैपटक नभई क्रमिक रुपमा डिजिटलमा लैजानुपर्नेमा जोड दिएका छन्।
नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली एकैपटक धेरै संख्यामा टेलिभिजनको प्रशारण रोकिँदा सर्वसाधारणमा आक्रोश बढेको बताउँछन्। ‘धेरैले मसँग आक्रोश समेत पोखे, प्रशारण हामीले नभई सरकारले नै बन्द गराएको हो’ उनले भने।
अहिले २० लाख सेट टप बक्सको माग भइसकेको र त्यो माग एकैपटक पूर्ति गर्न नसकिने उनले प्रष्ट पारे। यस्ता सेट टप बक्स व्यवसायीले चीनबाट आयात गर्ने गरेका छन्। ‘एकै पटक सो संख्यामा बक्सहरु पूर्ति गर्न पनि सकिँदैन’ उनले भने ‘अर्डर गरेको डेढ महिनापछि मात्रै बक्स नेपाल आउँछ यसबाट आक्रोश झन् बढ्छ।’
आफूहरुले क्रमिक रुपमा एनालग प्रविधिलाई डिजिटलमा रुपान्तरण गर्दै लगेको बताउँदै उनले थपे ‘एकै पटक सबैलाई सेट टप बक्स पनि नपुग्ने भएकाले प्रशारण पनि बन्द गरिरहन मिल्दैन।’
यस सम्वन्धमा मन्त्रालयका उच्च अधिकारीहरुसँग छलफल गरिरहेको उनले बताए। ‘चुनावका कारण उहाँहरु व्यस्त भएकाले गहन रुपमा कुराकानी हुन सकेको छैन, तर यसलाई चाँडो सल्टाउनुपर्दछ’ उनले भने।
मन्त्रालयकी उपसचिव ओझाले भने व्यवसायीहरुसँगको छलफलपछि केहीले सेट टप बक्स ल्याइरहेको, केही भन्सारसम्म आइपुगेको तथा कोहीले ल्याउने क्रम जारी रहेकाले बक्सको समस्या नरहने दावी गरिन्। अनुगमन नभएसम्म व्यवसायीहरुले वास्ता नगरेकाले प्रशारण नै रोक्नुपरेको उनले बताइन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु)ले यसै अंग्रेजी वर्षको डिसेम्बरसम्ममा एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिएको थियो। सोअनुसार नेपाल सदस्य राष्ट्र भएकाले निर्णय कार्यान्वयन गराउनै पर्ने बाध्यता भएको उपसचिब ओझाले बताइन्।
‘व्यवसायीकै आग्रहमा यो मिति पटक पटक सारिँदै आएको हो, तर यसरी सार्दै जाँदा मिति नै घर्किसक्यो, त्यसैले प्रशारण नै रोक्न बाध्य भयौँ, अब व्यवसायीहरु सचेत हुनुपर्यो’ उनले भनिन्।
यो पनि,
के फाइदा हुन्छ टिभीमा डिजिटल प्रविधि भएपछि ?