कोरियाली स्मार्टफोन ब्राण्ड सामसङले पुसमा एस सिरिजको ‘एस ९’ फोन सार्वजनिक गर्ने अनुमान विभिन्न अन्तरािष्ट्रय सञ्चार माध्यमले गरेका छन्।
कम्पनीले गत फागुनमा ‘एस ८’ र ‘एस ८ प्लस’ बजार ल्याएको थियो। सामान्यतया सामसङले आफ्नो फ्ल्यागसिप मोडल एक वर्षको अन्तरमा सार्वजनिक गर्ने गर्छ।
तर आउँदो पुसमा लस भेगसमा आयोजना हुन लागेको विश्वभरीका विद्युतीय सामाग्री उत्पादकहरुको मेला ‘कन्जुमर इलेक्ट्रोनिक्स सो’ मा यी दुई मोडलहरु सार्वजनिक हुने प्राविधि सम्बन्धी अमेरिकी अनलाइन पत्रिका ‘भेन्चर बिट’ ले दाबी गरेको छ।
पत्रिकाले सो कुराको जानकारी सामसङकै एक जना उच्चस्तरका कर्मचारीले आउँदो योजना सुनाउने क्रममा बताएको उल्लेख गरेको छ। तर फोन पुसमा सार्वजनिक भएपनि फागुनबाट उपलब्ध हुने गरी तयारी गरिएको बताइएको छ।
पत्रिकाका अनुसार एस ९ मा ५.८ तथा एस ९ प्लसमा ६.२ इन्चको कर्भड एज सुपर एमोलेड डिस्प्ले रहने छ।
त्यस्तै यी दुबै फोनमा स्नापड्रागन ८४५ हुने बनाइएको छ भने एस ९ प्लसको पछाडि दुई क्यामेरा हुने तथा ४ जीबी र््यामका साथ ६ जीबी इन्टरनल स्टोरज हुने दाबी गरिएको छ।