विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाट आउने गरेको नेपाल टेलिकमले बताएको छ।
यसबाट नेपाल टेलिकमका ग्राहकहरू गुणस्तरीय सेवा प्राप्त गर्नबाट वञ्चित हुनुको साथै राजस्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन टेलिकमले ग्राहकहरूमा अनुरोध गरेको छ।
'नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अवैध मार्गबाट आएको हुन्छ,' टेलिकमले भनेको छ,' यसरी आएको कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलिएको हुन्छ । '
विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने उसको निष्कर्ष छ ।
ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरूमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अवैध कलहरू नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा यसतर्फ कम्पनीले थप सक्रियता बढाएको छ ।
‘यदि विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु’ टेलिकमको अनुरोध छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।