आगामी माघ ११ देखि १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु हुने भएको छ।
कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानले बिहिबार पत्रकार सम्मेलन गरी क्यान इन्फोटेक मेला आगामी माघ ११ गतेबाट सुरु हुने जानकारी गराएको हो।
सम्मेलनमा बोल्दै एशोसिएसनका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरुको जानकारी लिन पाउने व्यवस्था गरिने बताए।
मेलामा अवलोकनकर्ताहरुले नयाँ नयाँ सूचना प्रविधि र उपकरण अवलोकन तथा खरिद गर्न सक्नेछन्।
विश्वमा सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले क्यानले हरेक वर्ष इन्फोटेक मेला आयोजना गर्दै आएको छ।
यस २४ औं संस्करणको “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु हुनेछन्। त्यस्तै ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने क्यानका अध्यक्ष विनोद ढकालले जानकारी दिए।
हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स्जस्ता सेवाप्रदायकका स्टल हुनेछन्। हालसम्म ६० प्रतिशत स्टल बुक भइसकेको क्यानले जानकारी दिएको छ।
मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ ।
अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधगरेमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष ढकालले जानकारी दिए। अनलाईन टिकट खरीद गर्नेले २० प्रतिशत छुट पाउनेछन्।