एप्पलले पुराना मोडलका आइफोन ‘स्लो’ हुन गएकोमा माफी मागेको छ। पुराना आइफोन मोडल प्रयोगकर्ताले फोन पहिलेको भन्दा स्लो भएको भन्दै गुनोसो गरेपछि कम्पनीले त्यसप्रति माफी मागेको हो।
विगत केही समययता कम्पनीलाई पुराना मोडलका आइफोन प्रयोगकर्तालाई नयाँ किन्न बाध्य पार्ने नियतले फोन स्लो बनाएको आरोप लाग्दै आएको छ।
तर एप्पलले भने केही मोडलमा ब्याट्रीको आयु टिकाउन सो कदम चालिएको भएता पनि नयाँ फोन किन्न बाध्य बनाउने उद्देश्यले त्यसो नगरिएको दाबी गरेको छ।
यसका साथै कम्पनीले ब्याट्रीको वारेन्टी सकिसकेका आइफोन वा त्यसपछि आएका अन्य कुनै पनि सेट प्रयोगकर्ताका लागि २९ अमेरिकी डलरमै नयाँ ब्याट्री साट्न मिल्ने व्यवस्था गरिने बताएको छ। हाल आइफोनको नयाँ ब्याट्रीको मूल्य ७९ डलर पर्दै आएको छ।
यसबाहेक प्रयोगकर्तालाई फोनको ब्याट्रीको अवस्थाका बारेमा जनाकारी दिन नयाँ सफ्टवेयर आगामी वर्ष ल्याइने प्रतिवद्धता उसले जनाएको छ।
प्रयोगकर्ताको फोन जानाजान स्लो बनाएको भन्दै एप्पलका विरुद्धमा अमेरिका, इजरायल र फ्रान्समा मुद्धा परेको छ।
त्यस्तै सुरक्षाका कारण देखाउँदै कम्पनीले आफ्ना प्रमूख टम कुकलाई यात्रा गर्दा निजी विमानको प्रयोग गर्न सुचित गरेको छ।