सामाजिक सञ्जालको प्रयोग बढ्दो छ। जर्मनीको हमबर्गमा प्रधान कार्यालय रहेको ‘स्टाटिस्टा’ नामक अनलाइन साइटको तथ्यांकलाई आधार मान्ने हो संसारका ३७ प्रतिशत मानिस समाजिक सञ्जालको पहुँचमा छन्। प्रविधिमा पिछडिएको भनिएको दक्षिण एसियामा करिब १५ प्रतिशत मानिस सामाजिक सञ्जालमा जोडिएका छन्।सन् २०१० मा ०.९७ बिलियन मानिसले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेकोमा सन् २०१७ मा यो संख्या बढेर २.४६ बिलियन पुगेको छ। सन् २०२१ सम्ममा ३.०२ बिलियन पुग्ने आँकलन गरिएको छ। यस्तैमा एक नेपाली गोविन्द गिरीको परिकल्पनामा ‘सगुन’ नामक सामाजिक सञ्जालको एप सार्वजनिक गरिएको छ। गत जनवरी ९ तारिखमा भारतबाट एप सार्वजनिक गरिएको हो। दक्षिण एसियाले विश्वलाई दिएको सगुनका रुपमा यसलाई अर्थ्याइएको छ। अन्य सबै सञ्जालभन्दा सगुन पृथक तथा नविन भएको निर्माताको दाबी छ। यसै सन्दर्भमा सगुन एपकी सहसंस्थापक तथा सगुन भारत इन्ककी प्रमुख स्वति दयालसँग सेतोपाटीका विनोद आचार्यले गरेको संक्षिप्त कुराकानीःतपाई सगुनको सहसंस्थापक तथा सगुन भारतकी प्रमुख हुनुहुन्छ। यसपटक नेपाल आउनुको उद्देश्यका बारेमा प्रस्ट पारिदिनुहोस् न।अहिले नेपाल आउनुको मेरो एक मात्र उद्देश्य भनेको यहाँ जारी क्यान इन्फोटेक मेला हो। यहाँ चलिरहेको क्यान मेलाका बारेमा फेसबुकलाइभ मार्फत गत बिहीबार मैले थाहा पाएँ। सो लाइभमा मैले सहभागीहरुको निकै उत्साह देखेँ।
सगुनका बारेमा कम जानकार रहेका वा नसुनेका प्रयोगकर्तालाई यसका बारेमा बुझाउने र ती प्रयोगकर्ता जो पहिलेदेखि नै सगुनसँग परिचित हुनुहुन्छ, उहाँहरुका सुझाव संकलन गरी आउँदा दिनमा थप सुधार गर्नुपर्ने कुराहरु ग्रहण गर्न म यहाँ आएकी हुँ।
यसबाहेक नेपाल मलाई असाध्यै मन पर्ने देश पनि हो। यहाँको सौन्दर्य हेर्न तथा मिलनसार मानिस भेट्न पाउने हरेक अवसर म गुमाउन चाहन्नँ। त्यसैले म धेरै पटक नेपाल आएकी छु।
मेलामा सहभागीबाट कस्तो प्रतिक्रिया पाउनु भयो त?साँच्चै भन्नुपर्दा, मैले मेलामा सोेचेकोभन्दा धेरैको सहभागिता थियो। देखिएको भीडले यहाँ प्रविधिप्रति मानिसको उत्साह कस्तो छ भन्ने कुरा प्रत्यक्षरुपमा जान्न पाउँदा मलाई खुसी लागेको छ।
खासगरी सगुनको स्टलमा युवापुस्ताले यसको फिचर्सका बारेमा हामीसँग जिज्ञासा राखे, यसबारे मन परेका तथा नपरेका कुरा हामीसँग बाँडे।
अपरिचित सहभागीलाई समेत प्रत्यक्षरुपमा सगुनका बारेमा भन्न पायौँ। उनीहरुका प्रतिक्रिया सुन्न पायौँ। मैले जुन उत्सुकता तथा प्रोत्साहन देखेँ त्यसले निकै नै ठूलो उर्जा दिएको छ।
जो सामाजिक सञ्जालसँग अभ्यस्त तर सगुनका बारेमा अनविज्ञ छन्, ति प्रयोगकर्तालाई ‘सगुन’ कस्तो खालको एप हो र यसमा कस्ता फिचर्सहरु छन् बताइदिनुहोस न।
सगुन एक नयाँ सामाजिक सञ्जाल हो जसको थिम ‘कनेक्ट’, ‘सेयर’, ‘अर्न’ राखिएको छ। यसमार्फत विद्यमान सामाजिक सञ्जालको अर्थलाई बदलेर नवीन परिभाषा हामी दिन चाहान्छौँ। त्यसका लागि हामी एक प्रयोगकर्ताको दैनिक जीवन, उसका भोगाई र अनुभवलाई आफन्त, साथीभाई वा परिचित व्यक्ति जो आफैंमा सगुनका प्रयोगकर्ता हुन् उनीहरुलाई ‘कनेक्ट’ गर्न चाहान्छौँ।
प्रयोगकर्ताले आफूले भोगेका अनुभव अन्यका निम्ति लाभदायक हुन सक्छन्, सूचना तथा ज्ञानवर्दक कुराहरु ‘सेयर’ गर्न सक्नेछन्। तेश्रो पक्ष भनेको यसबाट प्रयोगकर्ताले आर्जन पनि गर्न सक्नेछन्। सामाजिक सञ्जालले आज जसरी समाजमा विकृतिहरु ल्याइराखेका छन्। त्यसबाट छुटकारा दिने तर दुई वा दुईभन्दा बढी मानिसलाई जोड्ने उद्देश्यसहित सगुन तयार पारेका हौँ।
जनवरी ९ मा सार्वजनिक भएपछि अहिले यो प्ले स्टोरमार्फत एन्ड्रोइड प्रयोगकर्तामाझ पुगेको छ। यसमा ‘माइ डे’, ‘सिक्रेट’ र ‘मुड टक’ गरी तीन वटा मुख्य फिचर्स छन्। माइडे मार्फत प्रयोगकर्ताले दिनभरको तालिका बताउन सक्छन्। सिक्रेटमार्फत गोप्य कुरा नजिकका व्यक्तिसँग साट्न सक्नेछन् भने मुड टकमार्फत मुडका बारेमा प्रतिक्रिया जनाउन सक्नेछन्।
यी तीनै फिचर्स स्नापच्याट, इन्स्टाग्राम, गुगल क्यालेण्डर वा अन्य कुनै सञ्जालभन्दा पृथक छन्।
तपाईहरुले दिनुभएको तेस्रो थिम ‘अर्न’ मार्फत प्रयोगकर्ताले यसबाट कमाई गर्न सक्छन् भन्न खोजिएको हो ?हामी प्रयोगकर्तालाई यसमा बिताएको समय, यहाँ गरेको क्रियाकलाप लगायतका आधारमा उनीहरुलाई ‘रिवार्ड’ दिन्छौँ। त्यो प्राप्त गरेको रिवार्डमार्फत प्रयोगकर्ताले त्यसबाट सपिङ वा गिफ्ट पाउन सक्नेछन्।
यसमार्फत तपाईले प्रशस्त कमाई गर्न सक्नुहुन्छ तर त्यो आर्जन रुपैयाँमा मात्र नभएर ज्ञानमा पनि तौलिएर हेर्नुहोस। यसबाहेक अर्को प्रमुख कुरा हामीले के बुझ्न जरुरी छ भने आज सामाजिक सञ्जालहरुमा सेल्फी, फलानो फिल्म हर्न गएको वा के गरिरहेको जस्ता पोस्टहरु बाहेक अन्य कुरा भेटाउनै गाह्रो छ।
यदी समाचार साइटहरुकै कुरा गर्ने हो भने पनि अफबाह फैलाउने, गलत सूचना दिने साइटहरुले सच्चा साइटहरुलाई ओझेलमा पारिरहेका छन्।
हामीले यी समाजिक सञ्जालमा लाइक, अनलाइक जस्ता कुरा गर्नमै प्रसस्त समय खेर फालिरहेका छौँ तर त्यसको बदलामा हामीले के पाइरहेका छौँ ? अहँ हामीले केही पाएका छैनौँ बरु आफ्नो अमूल्य समय गुमाई रहेका छौँ।
यस कुरालाई ध्यानमा राखेर सगुनलाई हामी गुमाउने हैन, केही आर्जन गर्ने थलोका रुपमा विकास गर्न खोजिरहेका छौँ। यसका लागि हामी छिट्टै डिजिटल स्मार्ट कार्डको अवधारणा समेत ल्याउँदैछौँ।
सगुनलाई फेसबुक वा अन्य सामाजिक सञ्जालसँग दाँजेर हेर्दा एक प्रयोगकर्ताले कुन कुरामा समानता वा नविनता पाउन सक्छन्?सगुनलाई अन्य कुनै सञ्जालसँग दाँजेर हेर्ने हो भने तपाईले समयप्रति अन्याय गरिरहनु भएको छ। फेसबुक वा अन्य कुनै सञ्जालको उद्देश्य एक अर्कालाई जोड्नु भएता पनि धरातल भने विपरित छन्।
सबैभन्दा धेरै प्रयोगकर्ता भएको फेसबुक त्यस्तो समयमा सार्वजनिक भएको थियो जतिबेला मानिसलाई जोड्न कुनै सञ्जाल थिएन। फेसबुकले त्यो पुलका रुपमा काम गर्यो र उ सफल भयो। त्यसपछि आएका अन्य सञ्जालले पनि जोड्ने काम नै गरे।
तर आज तपाईले हजारौँ साथीहरु बनाउनु भएको छ र एकअर्कासँग जोडिसक्नु भएको छ। अब के त? के तपाईले ती प्ल्याटफर्ममा लाइक, सेयरबाहेक ती हजारौँ मानिससँगको तपाईको ‘कनेक्सन’ औचित्य के त? जस्ता प्रश्नहरुको उत्तर खोजिनुपर्छ।
ती सम्बन्धलाई अर्थपूर्ण बनाउन तथा तपाईको जीवनमा तीनको अस्तित्वले महत्व राख्ने, औचित्यपुर्ण बनाउने काम गर्ने जिम्मा बोकेर समग्र सामाजिक सञ्जाललाई पुनर्भाषित गर्न सगुनको प्ल्याटफर्म चाहिएको हो। त्यसैलै सगुनको अन्य सञ्जालसँग न त तुलना गर्न सकिन्छ, न प्रतिस्पर्धा नै।
नेपालमा इन्टरनेटको पहुँच निरन्तर रुपमा बढ्दै गएको छ। यसको प्रमुख जस फेसबुकलाई दिने गरिन्छ किनभने ठूला शहरबाहेकका ठाउँका मानिसहरुका निम्ति इन्टरनेट चलाउनु भनेकै फेसबुक चलाउनुजस्तै भएको छ। फेसबुकले नै उनीहरुले खोज्ने प्राय जसो कुराको पुर्ति गरिरहेको छ। यस्तोमा ति प्रयोगकर्तालाई सगुनसम्म कसरी आकर्षित गर्नुहुन्छ ?यदि तपाईले सामाजिक सञ्जालको इतिहास हेर्नुभयो भने फेसबुक आउनु भन्दा अघि आएको ओर्कट सबैभन्दा अपडेटेड अवस्थामा थियो, त्यो निकै लोकप्रिय हुँदै गएको थियो। ओर्कट तथा त्यसभन्दा अघिका सामाजिक सञ्जाल प्रयोग गरिररहेकालाई फेसबुकमा तान्न वर्षौँ लाग्यो।
त्यसैले पक्कै सगुनलाई पनि समय त लाग्छ नै। हामीलाई स्थापित मान्यतालाई तोड्नु पर्ने चुनौति पनि छ। तर अघि मैले भनेझैँ अन्य सञ्जाल र सगुनको धरातल बेग्लै छ। तिनले जोड्ने काम गरे भने सगुनले त्यो जोडलाई अर्थ तथा महत्व थप्ने काम गर्ने छ।
विश्वको अर्को कुनाका मानिसले सामाजिक सञ्जालमा घण्टौँ बिताएको समयको प्रतिफल खोज्न थालेका छन्। तर त्यसको बदलामा उनीहरुले नकारात्मकबाहेक केही पाइरहेका छैनन्।
यो अवस्थालाई केन्द्रित गरेर हामीले सगुनको अवधारण ल्याएका हौँ। त्यसैले सबैखाले प्रयोगकर्तालाई यसको आवश्यकता महसुस हुन केही समय त पक्कै लाग्ने छ, तर आवश्यकताको बोध भइसकेपछि सगुन नै उपयुक्त विकल्प हुनेछ।
यहाँले सामाजिक सञ्जालले ल्याएका विकृतिका बारेमा त प्रश्न उठाउनु भयो, सगुन पनि त्यस मामलाबाट अछुतो रहन नसक्ला नि?सगुन डिजाइन गर्दा नै हरेक फिचर्सले कुनै न कुनै रुपमा समस्याको समाधान गर्न सकोस भन्ने कुरालाई गम्भिरताका साथ सोचिएको छ।
एउटा सानो उदाहरण दिउँ, हामीमध्ये धेरैले ‘रिमाइन्डर’ को प्रयोग गर्छौँ तर यो रिमाइन्डर सधै आफ्नो लागि राख्छौँ। सगुनमार्फत तपाईले आफूसँग जोडिएका मानिसका लागि ‘रिमाइन्डर’ राख्न सक्नुहुनेछ।
यदी तपाईको बुवा वा आमाले नियमित औषधि खानुपर्नेछ भने सगुन मार्फत उहाँको फोनमा ‘रिमाइन्डर’ पुर्याउन सक्नुहुनेछ ताकी उहाँले औषधि खान नभुल्नुहोस। यसलाई अझ प्रस्ट्याएर हेर्नुहोस त सगुनको एउटा सानो फिचर्सले दुई बीचको सम्बन्धमा आत्मियता बढाउन कति मद्दत गर्नेछ।
त्यसैले विकृतिलाई निर्मुलन गरी समाजिक सञ्जालाई पुनःपरिभाषित गर्ने हाम्रा प्रयास सार्थक हुनेछ भन्नेमा विश्वस्त छौँ।
प्लेस्टोर तथा सामाजिक सञ्जालमा आएका गुनासालाई हेर्दा धेरै प्रयोगकर्तालाई यो एप कसरी चलाउने भन्नेमा अन्योलता रहेको देखियो। उनीहरुका गुनासालाई सम्बोधन गर्न के गर्दै हुनुहन्छ?हामी नयाँ छौँ त्यसैले यसको प्रयोग कसरी गर्ने भन्नेमा धेरै अन्योलता छ। यसलाई मध्यनजर गर्दै हामी एक दुई दिनमै एण्ड्रोइड एप अपडेट गरी कसरी चलाउने भनेर एउटा भिडियो सार्वजनिक गर्दै छौँ। यसका साथै हामीले नेपाली, हिन्दी, बंगाली तथा अन्य क्षेत्रीय भाषामा समेत एपलाई उपलब्ध गराउने लक्ष्य राखेका छौँ।
यो बाहेक तपाईहरुका आगामी योजना के के छन् ?हाम्रा लागि विकास, विस्तार तथा अपग्रेडका दृष्टिकोणबाट यो वर्ष निकै महत्वपूर्ण हुनेवाला छ। सन् २०१५ मा हामीले पहिलो पटक ‘वेभ भर्सन’ सार्वजनिक गरेका थियौँ। आउँदो मे महिनामा आइओएस प्रयोगकर्ताका लागि एप ल्याउँदैछौँ भने चाँडै नै यसको वेभ भर्सन सार्वजनिक गर्दैछौँ।
यस वर्षमा हामी अर्को महत्वपूर्ण फिचर ‘मि पेज’ लन्च गर्नेछौँ भने यसै वर्ष हाम्रो फिचर ‘अर्न’ ल्याउँदै छौँ। ‘अर्न’ फिचर हाम्रा लागि निकै नै बहुप्रतिक्षित रहेको छ किनभने यस फिचर नै सामाजिक सञ्जालमा ‘गेम चेञ्जर’ बनेर आउने हाम्रो विशलेषण छ।
यसै फिचरमार्फत हामी ‘सोसल स्मार्ट कार्ड’ ल्याउने छौँ र यो सबै सगुन प्रयोगकर्ताका लागि निशूल्क उपलब्ध हुनेछ। प्रयोगकर्ताले सगुन चलाउनमा खर्चेको समयका आधारमा उसलाई दिइएको कार्डमा रकम जम्मा हुनेछ र सो पैसा उसले सम्झौता भएका डिपार्टमेन्ट स्टोर्स, मल लगायतमा सपिङ वा गिफ्टको रुपमा प्रयोग गर्न सक्नेछन्।
अन्त्यमा, नेपाली प्रयोगकर्तालाई के भन्न चाहनुहुन्छ ?सगुन लन्च भएको पहिलो दिनबाटै हामीलाई नेपाली प्रयागकर्ताले साथ, सहयोग, सुझाव तथा प्रोत्साहन गर्दै आउनुभएको छ। सगुन एक जना नेपाली (गोविन्द गिरी) को सोचको सार्थक रुप हो। उहाँ नै यसको संस्थापक हुनुहुन्छ।
भारतीय प्रयोगकर्ताबाट असाध्यै राम्रो प्रतिक्रिया पाइरहेका छौँ। उनीहरुले सगुनलाई सबै सामाजिक सञ्जालको ‘बाप’ भनिरहेका छन्। एउटा नेपालीको सोचलाई सार्थक रुप लिएको यो कम्पनीलाई ग्लोबल कम्पनी बनाउने जिम्मा अब तपाई हाम्रो काँधमा आएको छ। यसलाई विश्वस्तरमा पुर्याउन नेपाल वा भारतमा मात्रै प्रयोग गरेर पुग्दैन।
यो तपाईको एप हो। यसको प्रयोग बढाउनुहोला। यसका साथै यसको प्रचार गरिदिनु होला। मनपरे साथीभाईलाई पनि चलाउन भनिदिनुहोस। कुनै फिचरप्रति गुनोसो छ भने हामीलाई सुझाव दिनुहोला।