नोकियाको वहुचर्चित मोडल ‘३३१०’ को नेटवर्कमा सुधार गरिएको छ। नोकियाका फोन उत्पादन तथा वितरण गर्ने फिनिस कम्पनी एचएमडी ग्लोबलले सो मोडल फोरजी भेरियन्टमा सार्वजनिक गरेको हो।
यो फोन बजारमा आउँदा ‘टुजी’ नेटवर्कमा उपलब्ध थियो। त्यसैले गत वर्षको फेब्रुअरीमा सो मोडल पुनरामगन गर्दा सोही व्याण्डविथमा ल्याइएको थियो।
यसअघि कम्पनीले गत अक्टोबरमा अमेरिकामा थ्रीजी भेरियन्टमा बजारमा ल्याएको थियो। तर अब भने कम्पनीले सो मोडललाई फोरजी नेटवर्कमा उपलब्ध गराएको छ। कम्पनीले यस फोन हाललाई चिनियाँ बजारमा उपलब्ध गराउने भएको छ।
चीनमा यो फोन एन्ड्रोइड युनोस भर्सनमा उपलब्ध छ भने एउटा सिम हाल्न मिल्छ। यसबाहेक फोनमा २.४ इन्च डिस्प्ले, ५१२ एमबी इन्टरनल स्टोरेज क्षमता रहेको छ। तर यसलाई मेमोरी कार्डको प्रयोगमार्फत ६४ जीबीसम्म बढाउन सकिन्छ।
एलइडी फ्ल्याससहित यसको पछाडिको क्यामेरा २ मेगापिक्सेलको छ। फोनमा १ हजार २ सय एमएएचको पावर क्षमताको ब्याट्री दिइएको छ। कम्पनीको दाबी अनुसार फोरजी स्ट्याण्डबाईमा यसको ब्याट्री १२ दिनसम्म टिक्छ।
फोनको मूल्य तथा बजारमा यो कहिलेबाट उपलब्ध हुने हो भन्नेबारे खुलाइएको छैन।