सन् २०१७ मा विश्वभरी १ अर्ब ४७ करोड २४ लाख फोन विक्री भएका छन्।
सबैभन्दा बढी फोन बेच्ने कम्पनीहरुमा क्रमशः सामसङ, एप्पल, हुवावे, ओप्पो र सायोमी परेका छन्। तर यो संख्या अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो। २०१६ मा १ अर्ब ४७ करोड ३४ लाख सेट विक्री भएको थियो।
इन्टरनेसनल डाटा कर्पोरेसन (आइडिसी)ले वर्ष २०१७ को विवरणलाई केलाएर सो तथ्यांक निकालेको हो। आइडिसीका अनुसार गत वर्ष सबैभन्दा बढी फोन सामसङले बेचेको छ।
सामसङले सो वर्ष ३१ करोड ७० लाख फोन विक्री गरेको छ भने त्यसपछि क्रमश एप्पलले २१ करोड ५० लाख, हुवावेले १५ करोड ३० लाख, ओप्पोले ११ करोड १० लाख र सायोमीले ९ करोड २४ लाख सेट बेचेका छन्।
२०१६ मा यी कम्पनीमध्ये सामसङले ३१ करोड १० लाख, एप्पलले २१ करोड ५० लाख, हुवावेले १३ करोड ९० लाख, ओप्पोले ९ करोड ९० लाख र सायोमीले ५ करोड ३० लाख सेट बेचेका थिए।
हाल सामसङको २१.६ प्रतिशत बजार हिस्सा रहेको छ। एप्पलले १४.७, हुवावेले १०.७, ओप्पोले ७.६ र सायोमीले ६.३ प्रतिशत ओगटेका छन्।
एक वर्षको अवधिमा सबैभन्दा आक्रामक रुपमा चिनियाँ ब्राण्ड सायोमीले बजार हिस्सा बढाएको छ। तर सो अवधिमा एप्पलको भने अवस्था निराशाजनक छ। २०१६ मा ३.६ रहेको सायोमीको बजार हिस्सा वृद्धि भई ६.३ प्रतिशत पुगेको छ।
तर सोही अवधिमा एप्पलको बजार विस्तार ०.२ प्रतिशतले मात्र बढेको छ। सन् २०१६ मा १४.६ प्रतिशत हिस्सा ओगटेको एप्पलले २०१७ मा १४.७ पुर्याएको छ।
सायोमीपछि सोही अवधिमा अर्को चिनियाँ कम्पनी ओप्पोले बजार हिस्सामा सुविधाजनक वृद्धि गरेको छ। ओप्पोले सो वर्ष १२ प्रतिशले बजार बढाएको छ। २०१६ मा ६.८ रहेको ओप्पोको बजार २०१७ मा ७.६ प्रतिशत नाघेको छ।
ओप्पो पश्चात पुनः अर्को चिनियाँ कम्पनी हुवावेले अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले बजार बढाएको छ। २०१६ मा ९.४ प्रतिशतको हिस्सा रहेकोमा एक वर्षमा १०.४ पुर्याउन हुवावे सफल भएको छ।
तर सामसङ र एप्पलले गत वर्ष बजार विस्तारमा सन्तोषजनक नतिजा प्राप्त गर्न सकेनन्। यी दुई स्थापित कम्पनीलाई बजार हिस्सा कायम राख्न चिनियाँ ब्राण्डहरुले चुनौती दिई रहेका छन्।
२०१६ मा २१.१ प्रतिशत रहेको सामसङको बजार हिस्सा २०१७ मा १.९ प्रतिशतले बढेर २१.६ पुगेको छ। एप्पलको भने सोही अवधिमा ०.२ प्रतिशतको वृद्धिसहित १४.६ बाट १४.७ प्रतिशतमा अडेको छ।
यी पाँच प्रमुख कम्पनीले विश्वमा कुल ६०.५ प्रतिशत हिस्सा कायम गरेका छन्। जसमा चिनियाँ ब्राण्डको मात्र २४.३ प्रतिशत योग्दान छ जुन अघिल्लो वर्ष भने १९.९ प्रतिशतमा सीमित थियो।
कोरियाको सामसङ र अमेरिकाको एप्पलले मात्र ३६.३ प्रतिशतको हिस्सा ओगट्छन् तर चिनियाँ कम्प्नीजस्तो यी दुई ब्राण्डले बजार बढाउन सकेका छैनन्। २०१६ मा यीनले ३५.७ प्रतिशत हिस्सा ओगटेका थिए।
यी पाँच कम्पनीको बजार बढिरहँदा अन्य ब्राण्डको बजार भने खस्कँदै गएको छ। यी पाँचबाहेकका अन्यले २०१६ मा ६५ करोड ४५ लाख फोन बेचेका थिए भने २०१७ मा ५७ करोड ७७ लाख सेट विक्री गरेका थिए।
२०१७ मा यी पाँच कम्पनीको ६०.५ प्रतिशत बजार पुग्दा समग्रमा यीनले अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतको वृद्धि कायम गरेका छन्। २०१६ मा यी कम्पनीको बजार ५५.६ प्रतिशत कायम थियो।
यी पाँचबाहेकका अन्य कम्पनीको बजार हिस्सा खुम्चिएको देखिन्छ। २०१६ मा ४४.४ प्रतिशत रहेको अन्य ब्राण्डहरुको बजार हिस्सा २०१७ मा ३९.५ प्रतिशतमा सीमित भएको छ।
चिनियाँ ब्राण्डको बढीरहेको व्यापारका पछाडि चीन, भारत, रुस, इन्डोनेसिया जस्ता ठूला बजारलाई लिइन्छ। मध्यम तथा ‘इन्ट्री लेभल’का फोनहरु धेरै बिक्ने यी देशमा चिनियाँ ब्राण्ड ग्राहक सुहाउँदा उत्पादनमा केन्द्रित छन् भने सर्भिस तथा रिटेल सेन्टरहरुलाई पनि सर्वसुलभ बनाइरहेका छन्।
यसकारण पनि ती बजारहरुमा चिनियाँ ब्राण्डका फोनहरु निकै लोकप्रिय हुँदै गएको विज्ञहरु बताउँछन्।
(एजेन्सीहरुको सहयोगमा)