नोकियाको फोन उत्पादन तथा वितरण गर्ने फिनिस कम्पनी एचएमडी ग्लोबलले वहुचर्चित मोडल ‘३३१०’ लाई फोरजी नेटवर्क क्षमतामा अपग्रेड गरेको छ।
चीनमा सार्वजनिक गरिएको फोरजी भेरियन्ट यस फोनमा युन अपरेटिङ सिस्टम छ। युन अपरेटिङ सिस्टमले एन्ड्रोइडलेझैं डिभाइसमा एपहरु डाउनलोड गर्दैन तर वेभको सहायताले एप्लिकेसन खोल्न मद्दत गर्छ।
फोनमा २.४ इन्च डिस्प्ले, ५१२ एमबी इन्टरनल स्टोरेज क्षमता छ। तर यसलाई मेमोरी कार्डको प्रयोगमार्फत ६४ जिबीसम्म बढाउन सकिन्छ।
यसमा एउटा सिम अट्छ भने ‘स्नेक’ गेमलाई हटाइएको छैन। एलइडी फ्ल्याससहित यसको पछाडिको क्यामेरा २ मेगापिक्सेलको छ भने १ हजार २ सय एमएएच पावर क्षमताको ब्याट्री दिइएको छ।
फिचर्समध्ये सबैभन्दा आकर्षक पाटो भनेको यसको फोरजी नेटवर्क नै हो। फोनलाई वाइफाइ हट्स्पट समेत सपोर्ट गर्ने बनाइएको छ।
यो फोन सन् २००० मा पहिलो पटक बजारमा आउँदा ‘टुजी’ नेटवर्कमा उपलब्ध थियो। त्यस समयका सबै फोन सोही ब्याण्डविथमा आउँथे।
यो मोडल सन् २००५ मा बन्द गरियो। तर गत वर्षको फेब्रुअरीमा त्यसले पुनरामगन गरेपछि चर्चा र विक्री दुबै चुलियो। यद्यपी फोन टुजीको नेटवर्क व्याण्डविथमा आएपछि भने यसको आलोचना सुरु भयो।
कम्पनीले नेटवर्कमा अपग्रेड गर्दै लैजाने उल्लेख गर्दै गत अक्टोबरमा अमेरिकामा थ्रीजी भेरियन्ट ल्याएको छ। हालै चीनमा भने फोरजी भेरियन्टमा प्रस्तुत गरेको छ।
बदलिँदो मोबाइल नेटवर्क कनेक्टीभिटीलाई फोन निर्माताहरुले गम्भीरतापूर्वक लिएको उदाहरण नोकियाको मात्र हैन।हालका धेरै स्थापित कम्पनीहरुले टुजी, थ्रीजी वा फोरजीमा हैन अब फाइभजीमा लगानी गर्न थालेका छन्।
आफ्ना डिभाइसले फाइभजी नेटवर्क सपोर्ट गर्ने गरी तयार पार्न विभिन्न चिप, रेडियो फ्रिक्वेन्सी तथा मोडेम निर्मातासँग कम्पनीहरुले सम्झौता गर्न थालेका छन्।
हालै मात्र चिप निर्माण गर्ने अमेरिकी कम्पनी क्वालकमसँग नोकियाले फाइभजी नेटवर्क तथा डिभाइस निर्माणको सम्झौता गरेको छ। सम्झौता अनुसार क्वालकमले नोकियालाई थ्रीजीपीपीले तय गरेको फाइभजीमा हुनुपर्ने मापदण्ड अनुरुप नेटवर्क पूर्वाधार र डिभाइस निर्माणमा सघाउने छ।
सम्झौता अनुसार पूर्वाधार निर्माण कार्य २०१९ भित्र सम्पन्न गर्ने उल्लेख छ, भने २०२० सम्ममा नोकियाको फोन फाइभजीमा ल्याउने भनिएको छ। चीनमा यसै महिना भएको ‘क्वालकम टेक्नोलोजी डे’ नामक कार्यक्रममा क्वालकमसँगै चार वटा फोन निर्माता कम्पनीले करिब २ अर्ब मूल्य बराबरको सम्झौता गरेका छन्।
सम्झौता अनुसार ३ वर्षभित्रमा क्वालकमले रेडियो फ्रिक्वेन्सीमा सघाउने छ। त्यस्तै हुवावेले समेत फ्रान्सको ओरेन्ज टेलिकम्युनिकेसन ग्रुपसँग तथा सामसङले अमेरिकी टीमोबाइलसँग फाइभजीका लागि सम्झौता गरेका छन्।
फाइभजीको पछाडिको ‘जी’ ले जेनेरेसन भन्ने बुझाउँछ। संसारमा पहिलो पटक आएको ‘वन जी’ ले पहिलो पुस्ताको नेटवर्क भन्ने अर्थ बोक्थ्यो। सो नेटवर्क सन १९८५ मा आयो भने एनालग फोन कल त्यसको आधारभुत फिचर थियो।
टुजी भने १९९२ मा आएको थियो। डिजिटल फोन कल र मेसेजिङ यसका प्रमुख विशेषता थिए। थ्रीजी २००३ मा सार्वजनिक गरिएको थियो भने त्यसमा फोन कल, मेसेजीङ र डाटा सेवा अटाएका थिए।
त्यस्तै फोरजी २०१३ मा आएको मोबाइल नेटवर्क हो भने यसमा भ्वाइस र म्यासेजसहित सबै प्रकारका इन्टरनेट सेवा लिन सकिन्छ। फाइभजी भने २०२० पछि मात्र आउने छ र यसमा कस्ता प्रकारका विशेषता हुने भन्ने एकीन भइसकेको छैन। यसको स्पीड हालको फोरजीको भन्दा १० गुणा तीब्र हुने आँकलन गरिएको छ।
थ्रीजीपीपीले भने फाइभजीमा हुनुपर्ने स्पिड तथा अन्य फिचर्सका बारेमा मापदण्ड तयार पारिसकेको छैन। थ्रीजीपीपी (थर्ड जेनेरेसन पार्टनरसिप प्रोजेक्ट) दुरसञ्चार सम्बन्धी विभिन्न संघसंस्था तथा संयुक्त राष्टसंघको अन्तराष्ट्रिय दूरसञ्चार युनियन (आइटियु) को साझा टोली हो।
सो टोलीले आउँदो जुन महिनामा प्रतिवेदन तयार पार्ने बताइएको छ।
(एजेन्सीको सहयोगमा)