चिनियाँ दूरसञ्चार कम्पनी हुवावे र बेलायती बहुराष्ट्रिय नेटवर्क प्रदायक भोडाफोनले संयुक्त रुपमा फाइभजी नेटवर्क कनेक्सनको सफल परीक्षण गरेका छन्।
चीनको सरकारी समाचार संस्था सिनवाले जनाए अनुसार दुई कम्पनीले फाइभजी फोन कल तथा डाटामार्फत भिडियो कलको सफलतापूर्वक परीक्षण गरेका हुन्।
सो फोन कल फोरजी नेटवर्कबाट फाइजीमा गरिएको थियो। जुन हालको फोरजीको स्टयाण्डर्डभन्दा ८ गुणा तीव्र गतिको स्पिड रहेको दुबै कम्पनीका सम्वन्धित अधिकारीलाई उधृत गर्दै सिनवाले उल्लेख गरेको छ।
यसबाहेक दुबै कम्पनीले फाइजी डाटा कनेक्सनमार्फत भिडियो कलको समेत सफलतापूर्वक परीक्षण सम्पन्न गरेको जनाएका छन्। ३.७ गिगाहर्जको ब्याण्डविथ प्रयोग गरिएको संसारकै पहिलो यस फाइभजी कल स्पेनको क्यासलडेफल्सबाट मर्डिड शहरमा गरिएको थियो।
दुबै कम्पनीले सो कल थर्ड जेनेरेसन पार्टनरसिप प्रोजेक्ट (थ्रीजीपीपी)ले तय गरेका प्रारम्भिक आधारभुत स्ट्याण्डर्डमा आधारित भएर गरिएको दाबी गरेका छन्।
साथै, यी कम्पनीले यसमा थ्रीजीपीपीले निर्धारण गर्ने अन्तिम मापदण्डमा अपग्रेड समेत गरिने बताएका छन्। हुवावेका फाइभजी प्रोडक्टलाइन प्रमुख याङ केओबिनले यो परीक्षण फाइभजीको विकास तथा विस्तारका लागि कोसेढुंगा सावित हुने दाबी गरे।
त्यस्तै उनले आफूहरु थ्रीजीपीपीले तय गर्ने मापदण्डप्रति प्रतिवद्ध रहेर भोडाफोनसँग थप फाइभजीको विस्तारका लागि व्यवसायिक सम्झौता हुन लागेको समेत बताए।
थ्रीजीपीपी दूरसञ्चार सम्बन्धी विभिन्न संघसंस्था तथा संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय दूरसञ्चार युनियन (आइटियु)का प्रतिनिधिसहितको साझा टोली हो।
यद्यपी थ्रीजीपीपीले हालसम्म फाइभजीमा हुनुपर्ने स्पिड तथा अन्य फिचर्सका बारेमा मापदण्ड आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन। टोलीले आउँदो जुन महिनामा प्रतिवेदन तयार पार्ने बताइएको छ।
फाइभजीको पछाडिको ‘जी’ ले जेनेरेसन भन्ने बुझाउँछ। संसारमा पहिलो पटक आएको ‘वन जी’ ले पहिलो पुस्ताको नेटवर्क भन्ने अर्थ बोक्थ्यो। सो नेटवर्क सन १९८५ मा आयो भने एनालग फोन कल त्यसको आधारभुत फिचर थियो।
टुजी भने १९९२ मा आएको थियो। डिजिटल फोन कल र मेसेजिङ यसका प्रमुख विशेषता थिए। थ्रीजी २००३ मा सार्वजनिक गरिएको थियो भने त्यसमा फोन कल, मेसेजीङ र डाटा सेवा अटाएका थिए।
त्यस्तै फोरजी २०१३ मा आएको मोबाइल नेटवर्क हो भने यसमा भ्वाइस र म्यासेजसहित सबै प्रकारका इन्टरनेट सेवा लिन सकिन्छ। फाइभजी भने २०२० पछि मात्र आउने छ र यसमा कस्ता प्रकारका विशेषता हुने भन्ने एकीन भइसकेको छैन। यसको स्पीड हालको फोरजीको भन्दा १० गुणा तीब्र हुने आँकलन गरिएको छ।
पछिल्लो समय धेरै स्थापित कम्पनीहरुले फाइभजीमा लगानी गर्न थालेका छन्। आफ्ना डिभाइसले फाइभजी नेटवर्क सपोर्ट गर्ने गरी तयार पार्न विभिन्न चिप, रेडियो फ्रिक्वेन्सी तथा मोडेम निर्मातासँग कम्पनीहरुले सम्झौता गर्न थालेका छन्।
हालै मात्र चिप निर्माण गर्ने अमेरिकी कम्पनी क्वालकमसँग नोकियाले फाइभजी नेटवर्क तथा डिभाइस निर्माणको सम्झौता गरेको छ।सम्झौता अनुसार क्वालकमले नोकियालाई थ्रीजीपीपीले तय गरेको फाइभजीमा हुनुपर्ने मापदण्ड अनुरुप नेटवर्क पूर्वाधार र डिभाइस निर्माणमा सघाउने छ।
सम्झौता अनुसार पूर्वाधार निर्माण कार्य २०१९ भित्र सम्पन्न गर्ने उल्लेख छ, भने २०२० सम्ममा नोकियाको फोन फाइभजीमा ल्याउने भनिएको छ। चीनमा यसै महिना भएको ‘क्वालकम टेक्नोलोजी डे’ नामक कार्यक्रममा क्वालकमसँगै चार वटा फोन निर्माता कम्पनीले करिब २ अर्ब मूल्य बराबरको सम्झौता गरेका छन्।
सम्झौता अनुसार ३ वर्षभित्रमा क्वालकमले रेडियो फ्रिक्वेन्सीमा सघाउने छ। त्यस्तै हुवावेले समेत फ्रान्सको ओरेन्ज टेलिकम्युनिकेसन ग्रुपसँग तथा सामसङले अमेरिकी टी¬मोबाइलसँग फाइभजीका लागि सम्झौता गरेका छन्।
(एजेन्सीहरुको सहयोगमा)