चिनिया दुरसञ्चार तथा फोन उत्पादक कम्पनी हुवावेले पहिलो व्यवसायिक फाइभजी चिपसेट सार्वजनिक गरेको छ।
‘बेलोङ ५जी०१’ मोडलको सो मोडेम हुवावेले स्पेनको बार्सिलोनामा जारी मोबाइल कम्पनीहरुको कुम्भ मेला भनिने ‘मोबाइल वर्ल्ड कांग्रेस २०१८’ मा सार्वजनिक गरेको हो।
हुवावे यस चिपसेट मोबाइल डिभाइसलाई फाइभजी नेटवर्कसँग जोड्न मद्धत गर्न अपरिहार्य हुने दाबी गरेको छ।
यस चिपसेट सबै गिगाहर्ज र मिलिमिटर वेभ स्पेक्ट्रम ब्याण्ड गरी दुई वटा मोडलमा यसैवर्षभित्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस चिपसेटले थर्ड जेनेरेसन पार्टनरसिप प्रोजेक्ट (थ्रीजीपीपी) ले तय गरेको मापदण्डमा रहेर सब६ गिगाहर्ज वा मिलिमिटर वेभ स्पेक्ट्रम ब्याण्ड मार्फत २.३ जीबीपिएस स्पिड प्रदान गर्नेछ जसमार्फत हालको एक सय एमबिपिएस फाइबर स्पिडभन्दा २० गुणा तिब्र गतिमा इन्टरनेटको मजा लिन सकिन्छ।
‘यस चिपसेटले भिआर वा गेमिङमा ‘अल्ट्रा फास्ट’ अनुवभ प्रदानमात्रै गर्दैन, यसमार्फत तँपाईले एउटा टिभी सो एक सेकेण्ड भित्र डाउनलोड गर्न सक्नुहुन्छ’ कम्पनीको कन्जुमर बिजनेस ग्रुपका सिइओ रिचार्ड युले बताए।
हुवावेले फाइभजीमा ठूलो लगानी गरिरहेको छ भने अन्य विभिन्न कम्पनीहरुसँन्ग समेत यसको विकासमा सहकार्य गरिरहेको छ।
सिइओ युका अनुसार हुवावेले सन् २००९ देखि हुवावेले फाइभजी प्रविधिको अनुसन्धान, विकास र विस्तारमा हालसम्म ६ सय मिलियन डलर लगानी गरिसकेको छ।
बार्सिलोनामा जारी कार्यक्रममा हुवावेसँगै टेक कम्पनी इन्टेलले समेत पहिलो फाइभजी न्यु रेडियो (५जी एनआर) सार्वजनिक गर्ने बताइसकेको छ।
गत सेप्टेम्बरमा दुबै कम्प्नीले हुवावेको ‘फाइभजी स्टेस्न प्रोटोटाइप’ र इन्टेलको ‘तेश्रो पुस्ताको फाइभजी मोबाइल ट्रायल प्लेटफर्म’ को प्रयोग गरी सब६ गिगाहर्ज तथा ४ र ८ गिगाहर्जको उच्च रेन्जको स्पेक्ट्रम ब्याण्डमार्फत फाइभजी एनआरको परिक्षण गर्ने सम्झदारी गरेका थिए।
त्यसअघि पनि हुवावे र बेलायती बहुराष्ट्रिय नेटवर्क प्रदायक भोडाफोनले संयुक्त रुपमा फाइभजी नेटवर्क कनेक्सनको सफल परीक्षण गरेका थिए।
सो फोन कल फोरजी नेटवर्कबाट फाइजीमा गरिएको थियो। जुन हालको फोरजीको स्टयाण्डर्डभन्दा ८ गुणा तीव्र गतिको स्पिड रहेको दुबै कम्पनीका सम्वन्धित अधिकारीलाई उधृत गर्दै सिनह्वाले उल्लेख गरेको थियो।
यसबाहेक दुबै कम्पनीले फाइजी डाटा कनेक्सनमार्फत भिडियो कलको समेत सफलतापूर्वक परीक्षण सम्पन्न गरेको बताइएको थियो। ३.७ गिगाहर्जको ब्याण्डविथ प्रयोग गरिएको संसारकै पहिलो उक्त फाइभजी कल स्पेनको क्यासलडेफल्सबाट मर्डिड शहरमा गरिएको थियो।
दुबै कम्पनीले सो कल थर्ड जेनेरेसन पार्टनरसिप प्रोजेक्ट (थ्रीजीपीपी)ले तय गरेका प्रारम्भिक आधारभुत स्ट्याण्डर्डमा आधारित भएर गरिएको दाबी गरेका थिए।
यी कम्पनीले यसमा थ्रीजीपीपीले निर्धारण गर्ने अन्तिम मापदण्डमा अपग्रेड समेत गरिने बताएका छन्। हुवावेका फाइभजी प्रोडक्टलाइन प्रमुख याङ केओबिनले यो परीक्षण फाइभजीको विकास तथा विस्तारका लागि कोसेढुंगा सावित हुने दाबी गरे।
त्यस्तै उनले आफूहरु थ्रीजीपीपीले तय गर्ने मापदण्डप्रति प्रतिवद्ध रहेर भोडाफोनसँग थप फाइभजीको विस्तारका लागि व्यवसायिक सम्झौता हुन लागेको समेत बताए।
थ्रीजीपीपी दूरसञ्चार सम्बन्धी विभिन्न संघसंस्था तथा संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय दुरसञ्चार युनियन (आइटियु) का प्रतिनिधिसहितको साझा टोली हो।
यद्यपी थ्रीजीपीपीले हालसम्म फाइभजीमा हुनुपर्ने स्पिड तथा अन्य फिचर्सका बारेमा मापदण्ड आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन। टोलीले आउँदो जुन महिनामा प्रतिवेदन तयार पार्ने बताइएको छ।
फाइभजीको पछाडिको ‘जी’ ले जेनेरेसन अर्थात पुस्ता भन्ने बुझाउँछ। संसारमा पहिलो पटक आएको ‘वन जी’ ले पहिलो पुस्ताको नेटवर्क भन्ने अर्थ बोक्थ्यो। सो नेटवर्क सन १९८५ मा आयो जसमा एनालग फोन कल आधारभुत फिचर थियो।
त्यस्तै दोश्रो पुस्ताको नेटवर्क टुजी भने १९९२ मा आएको थियो। डिजिटल फोन कल र मेसेजिङ यसका प्रमुख विशेषता थिए।
थ्रीजी २००३ मा सार्वजनिक गरिएको थियो भने त्यसमा फोन कल, मेसेजीङ र डाटा सेवा अटाएका थिए।
त्यस्तै फोरजी २०१३ मा आएको मोबाइल नेटवर्क हो भने यसमा भ्वाइस र म्यासेजसहित सबै प्रकारका इन्टरनेट सेवा लिन सकिन्छ।
फाइभजी भने २०२० पछि मात्र आउने छ र यसमा कस्ता प्रकारका विशेषता हुने भन्ने एकीन भइसकेको छैन। यसको स्पिड हालको फोरजीको भन्दा १० गुणा तीब्र हुने आँकलन गरिएको छ।
(एजेन्सीहरुको सहयोगमा)