'सोसियल कमर्श प्लेटफर्म' सगुनले भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था ‘एच्टी ओभरसिज’ (एच्टी सिंगापुर) सँग ५० लाख डलरको लगानी सम्झौता गरेको घोषणा गरेको छ।
एच्टी ओभरसिज भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्टी मिडिया लिमिटेड (एच्टी मिडिया) को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।
एच्टी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुने बताइएको छ।
सगुनले ‘सोसल स्मार्ट कार्ड’ ल्याउने भएको छ, जसको मद्धतले बजारमा सामान किन्दा पैसा कमाउन, कुपन देखाएर छुट पाउन , तथा आफन्तलाइ उपहार पनि दिन सहज हुने कम्पनीले जनाएको छ।
त्यस्तै सगुनले यसै बर्ष ‘आइओएस् एप’ जारी गर्नको लागि समेत काम गरिरहेको बताएको छ। ३ सय अर्ब डलरको ‘सोसल कमर्स’ बजारमा ‘सोसल स्मार्ट कार्ड’ र ‘आइओएस् एप’ ले आमूल परिवर्तन ल्याउन सक्ने सगुनले बताएको छ।
सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, “हामी एच्टी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं। हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका अझ बढी प्रयोगकर्तासम्म पुग्नको लागि मद्दत गर्नेछ।”
“हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्तालाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगकोे प्रमाण हो। आम मानिसले सामाजिक सञ्जाल मार्फत् कनेक्ट, शेयर, तथा कमाउने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा रहेको र यस यात्राको साझेदार हुन पाएकोमा हामी उत्साहित छौं।”, हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने।
सगुन सुरुवाती चरणमा रहेको ‘सोसल कमर्स प्लेटफर्म’ हो जसको उद्देश्य सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताहरुलाई पैसा कमाउने अवसर प्रदान गर्ने रहेको कम्पनीले जनाएको छ। ‘सगुन’ शब्दको मूल संस्कृतको ‘सकुना’ शब्द हो जसको अर्थ शुभ अवसर तथा राम्रो भाग्य भन्ने हुन्छ।