चिनिया फोन निर्माता कम्पनी हुवावेले वाइ सिरिजका दुई फोन बजारमा ल्याएको छ। हुवावेले २०१८ संस्करणका ‘वाई नाइन’ र ‘वाइ सेभेन प्रो’ सार्वजनिक गरेको हो।
फोन सार्वजनिक गर्दै हुवावेका कन्ट्री निर्देशक जोयस झुले युवा वर्गलाई लक्षित गरेर मध्यम रेन्जमा चार क्यामरा, सुन्दर फुलभ्यु डिस्प्ले र एआर लेन्स भएको उत्कृष्ट फोन ल्याइएको बताए।
कम्पनीका अनुसार वाइ नाइनमा ‘नोभा टु आई’ झैं चार वटा क्यामरा छ। दुबै लेन्समा एफ/२.० को अपेचरसहित फोनको पछाडितर्फ १३ र २ मेगापिक्स्ेलको दुई वटा क्यामरा छन्।
त्यस्तै सेल्फीका लागि फोनमा एफ/२.२ अपेचर लेन्ससहित १६ र २ मेगापिक्सेलका दुई वटा क्यामरा दिइएको छ।
चारवटै क्यामराले कम वा बढी प्रकाश भएको अवस्थामा समेत उत्कृष्ट फोटोग्राफीको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
वाइ नाइनमा ५.९ इन्चको फुलभ्यु एचडी आइपिएस डिस्प्ले प्रयोग भएको छ। यसबाहेक फोनमा ३ जीबी र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता छ जसलाई मेमोरी कार्डमार्फत बढाएर २५६ जीबीसम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एन्ड्रोइड ओरियो ८.०को अपेरेटिङ सिस्टम भएको फोनमा हाइ सिलिकन किरिन ६५९ तथा २.३६ गिगाहर्जको अक्टाकोर प्रोसेसर समावेश गरिएको छ। यसबाहेक फोनमा फेस अनलक, कम्पास, प्राक्जिमिटी लगायतका सेन्सर लगायत छन्।
४ हजार एमएएच पावर क्षमताको ब्याट्री दिइएको यो फोन कालो, सुनौलो र निलो गरी तीन वटा रंग भेरियन्टमा उपलब्ध छ।
कम्पनीले यस फोनको बजार मूल्य २५ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।
त्यस्तै सार्वजनिक गरिएको अर्को फोन ‘वाइ सेभेन प्रो’मा समेत ५.९ इन्च साइजको फुलभ्यु एचडी डिस्प्ले रहेको छ।
त्यस्तै यसमा एन्ड्रोइड ओरियो ८ अपरेटिङ सिस्टमसहित क्वालकम एमएसएम८९३७ अक्टाकोर प्रोसेसर समावेश गरिएको कम्पनीले जनाएको छ।
फोनमा तीन वटा क्यामरा प्रयोग भएका छन्। यसमा १३ र २ मेगापिक्सेलको दुई वटा पछाडितर्फ तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा छ। यी तीनै क्यामराले उत्कृष्ट फोटो खिच्ने कम्पनीको दाबी छ।
यसको सेल्फी क्यामरामा भएको टोनिङ फ्ल्यासले प्रकाशको पहिचान गरी ब्राइटनेसको स्तर मिलाउने र प्राकृतिक देखिने तस्बिर खिच्न सक्ने कम्पनीले दाबी गरेको छ। यसको सेल्फी क्यामराले एआर मोडमार्फत ब्याकग्राउण्ड परिवर्तन कस्प्ले मिलाउन सक्छ भने बोक इफेक्ट समेत सपोर्ट गर्छ।
फोनमा ३ जीबी र्याम तथा ३२ जीबीको इन्टनल स्टोरज क्षमता छ जसलाई मेमोरी कार्डको प्रयोग मार्फत २५६ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ।
फोनमा फेस अनलक, फन्नी कस्प्ले, प्रोक्जिमिटी सेन्सर जस्ता फिचर्सहरु दिइएका छन्।
३ हजार एमएएच पावर क्षमताको ब्याट्री प्रयोग गरिएको यो स्मार्टफोन कालो, सुनौलो र निलो गरी तीन वटा फरक कलर भेरियन्टमा उपलब्ध छ।
कम्पनीले ‘वाइ सेभेन प्रो’ को बजार मूल्य २० हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।