नेपाल टेलिकमले मुगुको अति विकट स्थानमा भिस्याट प्रविधि मार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
मुगुम कर्मारोङ मुगुको सबैभन्दा विकट र दुर्गम स्थानमा रहनुका साथै चीनको सीमाना तत्कालीन मुगु गाविसको मुगु गाँउ नाक्च्या लाग्नासँग जोडिएको गाउँपालिका हो।
यो करिब ३ हजार मिटर उचाईमा अवस्थित छ। मुगुको सदरमुकाम गमगढी र प्रसिद्ध राराताल देखि तीन दिन पैदल हिडेर सो स्थानमा पुग्न सकिन्छ।
उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेको टेलकमले बताएको छ।
यस अघि स्थानीय वासिन्दाहरुले करिब ३ घण्टा हिडेर मोबाइल सेवा उपभोग गर्ने गरेका थिए। अहिले टेलिकमले उनीहरुलाई घर आँगनमै मोबाइल सेवा उपलब्ध गराएको छ।
अब यो सेवाबाट त्यस स्थानका करिव २ सय घरधुरीका बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने कम्पनीले बताएको छ। सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको टेलकमले बताएको छ।