नेपाल टेलिकमले बाग्लुङको उत्तर पश्चिममा रहेको ढोरपाटनमा थ्रि जी विटिएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ। । ढोरपाटन ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रि जी सेवा सञ्चालनमा आएको छ।
यो स्थान बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा अवस्थित छ। अब यो सेवाबाट त्यस स्थानका करिव ५ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने कम्पनीले बताएको छ।
यसले बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने टेलिकमको दाबी छ।
त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धो मा भिस्याट प्रविधि मार्फत जीएसएम मोवाइल सेवा आरम्भ भएको छ।
डोल्पा बुद्ध गाँउपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करिव २ हजार बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने कम्पनीले जनाएको छ। यो दुनै सदरमुकाम देखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ।
सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको टेलिकमले बताएको छ।