सरकारी स्वामित्वको नेपाल टेलिकमले मोबाइल मनी सेवा चलाउन दुईवटा मोडलमा छलफल अगाडि बढाएको छ।
दुरसंचार सेवाप्रदायक टेलिकमले मोबाइल मनी सेवा संचालन गर्न हाल मोबाइल वालेट वा मोबाइल बैंकिङ सेवा दिइरहेका निजी कम्पनीसँग राजश्व वा नाफा बाडफाँड र नेटवर्क सेयररिङ मोडलको बारेमा छलफल भइरहेको हो।
टेलिकमको व्यवसायिक टिमले तयार पारेको प्रतिवेदनका आधारमा हाल संचालक समितिमा पेस भएको उक्त प्रस्तावमा छलफल भइरहेको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्।
राजश्व र नाफा बाँडफाँटका लागि टेलिकमले सुरुमा आफ्नै साहयक कम्पनी बनाउने र उक्त कम्पनीले हालका मोवाइल वालेट वा मोबाइल बैंकिङ सेवा दिइरहेका कम्पनीसँग मिलेर सेवा दिने एउटा बिकल्प हो।
यस्तोमा टेलिकमको नयाँ बन्ने कम्पनीले निजी क्षेत्रका कम्पनीसँग भएको सम्झौताको आधारमा नाफा वा राजश्व बाँडफाँट हुने छ।
नेपाल टेलिकमका मोबाइल ग्राहक, नेटवर्क प्रयोग गर्नेगरी अन्य सेवाप्रदायकलाई निश्चित शुल्क तिर्नेगरी स्वीकृति दिने। यसमा सबै सेवाप्रदायकलाई दिन पनि सकिने वा एउटालाईमात्र छनौट गर्न पनि सकिने राजभण्डारीले बताइन्।
तर बोर्डबाट पारित भएपछिमात्र मोडलको बारेमा निश्चित हुने उनले प्रष्ट पारिन्।
‘हाल छलफलकै क्रममा छ तर हामी फोन र इन्टरनेटमात्र भन्दा पनि मूल्य अभिबृद्धि गर्ने सेवा संचालनमा दृढ छौं’ उनले भनिन्,‘छिट्टै बोर्डबाट पारित भएपछि यो कार्यान्वयन हुन्छ।’
राष्ट्र बैंकले ल्याएको पछिल्लो नियमअनुसार कुनै पनि टेलिकम कम्पनी आफैले मोबाइल मनी सेवा चलाउन सक्दैनन्। तर उनीहरुले साहयक कम्पनी बनाएर भने सेवा सुरु गर्नसक्छन्।
मोबाइल मनी सेवा के हो?वस्तु तथा सेवा खरिद गर्दा मोबाइल फोनका माध्यमबाट गरिने भुक्तानीलाई मोबाइल भुक्तानी वा मोबाइल मनी भनिन्छ। सन् १९९७ बाट सुरु भएको यो प्रविधि विभिन्न देशमा विभिन्न मोडलमा सञ्चालन भइरहेको छ।
यो सेवाअन्तर्गत मोबाइलमा रहेको ब्यालेन्स रकमबाटै भुक्तानी गर्न सकिन्छ। यसका लागि एसएमएस वा कार्डको माध्यम प्रयोग गर्ने गरिन्छ।
जस्तो, कुनै पसलमा गएर ५० रुपैयाँको स्याउ किन्दा दोकानदारको मोबाइल नम्बरमा ग्राहकले एसएमएसबाट ५० रुपैयाँ पठाइदिनसक्छ। यो मोबाइल मनीको सबभन्दा सजिलो उपाय हो। अर्को, मोबाइलको डाटा प्रयोग गरेर सम्बन्धित बैंकमा रहेको खाताबाट पनि भुक्तानी गर्न सकिन्छ।
अफ्रिकाका केही देशमा निकै सफल मानिएको यो प्राविधि युरोप, अमेरिकामा पनि प्रचलित छ। दक्षिण एसियामा बंगलादेशमा यो लोकप्रिय छ।
नेपालमा भने बैंकमा गएर खाता खोल्ने वा तोकिएको एजेन्टकहाँ गएर पैसा जम्मा गरी मोबाइलबाट गरिने भुक्तानीलाई मोबाइल मनीका रूपमा परिभाषित गर्ने गरिएको छ।