अमेरिकाको मल्टी मिडिया मेसेजिङ एप स्न्यापच्याटले टिकटक जस्तै नयाँ फिचर सुरु गरेको छ।
टेक हिन्दुस्तानका अनुसार स्न्यापच्याटले ‘स्पटलाइट’ नामक फिचर ल्याएको हो। जसमा प्रयोगकर्ताले छोटो भिडियो बनाएर स्न्यापच्याटमा सेयर गर्न सक्छन्।
सोमबार सार्वजनिक भएको स्न्यापच्याटको यो फिचर चर्चित भिडियो एप टिकटकबाट प्रभावित भएको देखिन्छ।
स्न्यापच्याटले भने स्पटलाइट फिचर प्रयोगकर्ताले आफ्ना कन्टेन्ट सेयर गर्नको लागि मनोरञ्जन प्लेटफर्म रहेको बताएको छ।
यसअघि नै स्न्यापच्याटबाट साथीहरुलाई फोटो वा भिडियो पठाइरहेका प्रयोगकर्ताले आफ्ना कन्टेन्ट सिधैँ स्पटलाइटमा सेयर गर्न सक्नेछन् । उनहरुले अझै धेरै फलोअर्स पाउन पनि सक्छन्।
योसँगै प्रयोगकर्ताले राम्रा स्न्याप भिडियो स्पटलाइटमा सेयर गरेबापत एक मिलियन अमेरिकी डलर पाउने अवसर लिन सक्छन्।
कम्पनीका अनुसार २०२० को अन्तिमसम्म स्पटलाइटमा बढी चर्चा पाउने भिडियोका प्रयोगकर्तालाइ एक मिलियन अमेरिकी डलर दिइनेछ।
सो पैसा कमाउनको लागि भिडियोमा कम्पनीले दिएको दिशानिर्देशन र सर्तहरु पालना गरेको हुनु पर्ने स्न्यापच्याटले आफ्नो ब्लग पोस्टमार्फत् बताएको छ।
स्पटलाइट अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्यान्ड, बेलायत, आयरल्यान्ड, नर्वे, स्विडेन, डेनमार्क, जर्मनी र फ्रान्समा सुरु हुँदैछ। यो फिचर बिस्तारै अन्य देशहरुमा पनि आउने कम्पनीको भनाइ छ।
यहीँ वर्ष फेसबुकले पनि टिकटक जस्तै फिचर भएको ‘इन्स्टाग्राम रिल’ नामक नयाँ प्लेटफर्म सुरु गरेको थियो।