ट्वीटरले अमेरिकी राष्ट्रपतिको ट्विटर ह्यान्डल जो बाइडेनलाई दिने भएको छ।
सिएनएन बिजनेसका अनुसार ट्वीटरले ‘पोटस’ अर्थात् प्रेसिडेन्ट अफ द युनाइडेट स्टेट नामक अकाउन्ट नयाँ राष्ट्रपति बाइडेनलाई उनको प्रशासन उद्घाटनको दिन हस्तान्तरण गर्ने भएको हो।
पोटस अकाउन्ट अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउन्ट हो। यो अकाउन्ट राष्ट्रपतिको व्यक्तिगत अकाउन्टभन्दा फरक हुन्छ।
यसअघि उक्त अकाउन्ट अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई दिइएको थियो। डोनाल्ड ट्रम्पले ट्वीट गरिरहने अकाउन्ट भने उनको व्यक्तिगत हो।
ट्वीटरले हरेक पटक नियुक्त हुने नयाँ राष्ट्रपतिलाई पोटस अकाउन्ट दिन्छ। पूर्व राष्ट्रपतिले यो अकाउन्ट चलाउन सक्दैनन्।
ह्वाइट हाउसका ‘फ्लोटस’ र ‘प्रेससेक’ नामक ट्वीटर अकाउन्टमा पनि यस्तै प्रणाली अनुसार लागू हुने गरेको ट्वीटरका प्रवक्ता निक प्यासिलियोले बताए।
‘ट्वीटरले २०२१ को जनवरी २० मा ह्वाइट हाउसको संस्थागत ट्वीटर अकाउन्ट नयाँ राष्ट्रपतिको प्रशासनलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ,’ निक प्यासिलियोले सिएनएन बिजनेसलाई भने, ‘हामीले २०१७ मा गरे जसरी यसपटक पनि यो प्रक्रिया राष्ट्रिय अभिलेखालय र रेकर्ड प्रशासनसँगको परामर्शपछि हुनेछ।’