भारतले मंगलबार थप ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ।
भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरूले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ।
प्रतिबन्धित एप्सहरूमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरू रहेका छन्।
अलि एक्सप्रेस, क्याम कार्ड तथा ताओवाओ लाइभ लगायतका चिनियाँ एप्सहरू प्रतिबन्धको सूचिमा परेका छन्।
भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरूमाथि प्रतिबन्ध लगाएको थियो।
भारत सरकारले चिनियाँ मोबाइल एप्सहरूले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरू संकलन गरी चीन पुर्याएको आरोप लगाएको थियो।
चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ।
तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरू भइरहे पनि तनाव जारी छ। यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन।
भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ।
भारतमा हाल चिनियाँ मोबाइल एप्सहरू तीब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन्।
कतिपय चिनियाँ कम्पनीहरूले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरू निर्माण गरेका छन्।