ट्वीटरले आगामी वर्षको सुरूवातसँगै खाता प्रमाणीकरण पुनः सुरू गर्ने भएको छ। 'ट्वीटर भेरिफिकेसन प्रोग्राम' सन् २०१७ यता बन्द थियो।
आगामी नयाँ वर्ष सुरूवातमा ट्वीटर प्रयोगकर्तालाई नयाँ वर्षको सौगात दिने कम्पनीले आफ्नो ब्लगपोस्टमा जनाएको छ।
उक्त ब्लगपोस्टमा उल्लेख भएअनुसार आगामी दिनमा खाताको किसिम समेत छुट्टिने गरी नियमावली तयार हुँदैछ। त्यसपछि खाता प्रयोग कहाँ र कुन प्रायोजनमा भइरहेको छ भनेर छुट्याउन सकिन्छ।
सन् २०२१ सँगै ६ प्रकारका भेरिफिकेसन ट्याग प्रयोगमा आउने ट्वीटरले आफ्नो वेबसाइमा उल्लेख गरेको छ जसको वर्गीकरण यसरी गरिएको छः
१. सरकारी
२. कम्पनी, ब्राण्ड र गैरनाफामूलक संस्था
३. समाचार
४. मनोरञ्जन
५. खेलकुद
६. सामाजिक अभियन्ता र सम्बन्धित संस्थानहरू
पुनः सुरू हुन लागेको खाता प्रमाणीकरणको पूर्ण स्वरुप कस्तो हुन्छ भन्ने जान्न प्रयोगकर्ताले डिसेम्बर १७ सम्म पर्खनुपर्ने छ। आउँदो डिसेम्बर १७ मा प्रमाणीकरण नियमावली सार्वजनिक गर्ने अन्तिम तयारी कम्पनीको छ।
नयाँ नियम लागू भएपछि प्रयोगबिहीन अवस्थामा रहेका खाताको प्रमाणीकरण स्वतः खारेज हुनेछ। यसबाहेक ट्वीटरको नियमको लगातार उल्लंघन भए खाता प्रमाणीकरण खारेज हुनेछ।
आफ्ना योजना प्रयोगकर्तामैत्री बनाउन ट्वीटरले गत मंगलबारदेखि भेरिफिकेसन सर्वे पनि सुरू गरिसकेको छ। त्यसका लागि प्रयोगकर्ताले ट्वीट गर्दा #VerificationFeedback प्रयोग गरेर आफ्नो सुझाव राय दिन सक्नेछन्।
आउँदो डिसेम्बर १७ सम्म प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा सार्वजनिक हुने नयाँ नियमावलीमा हेरफेर गरिने कम्पनीले जनाएको छ। ट्वीटरले आफूलाई सार्वजनिक हितका लागि उभिएको संस्था करार गर्दै प्रयोगकर्ताको आवाज नै आफ्नो नियमावलीको अभिन्न हिस्सा हुने बताएकाे छ।
त्यस्तै, कम्पनीले प्रयोगकर्ताको खाता वर्गीकरणमा निलो स्टिकरबाहेक अरू पनि प्रयोग गर्ने आफ्नो ब्लगपोस्टमा जनाएको छ। त्यसो भएमा खाता नयाँ हाे या पुरानो, खाताको प्रकार र प्रायोजन सबै छुट्याउन सकिने गरीको स्टिकर उपलब्ध हुनेछ। ट्वीटरले केही समययता चीन सरकार सम्बद्ध व्यक्ति तथा मिडिया नेटवर्कका खाताको पहिचान खुलाइदिने गरेको छ।