नेपाल टेलिकमले ग्राहकलाइ राउटर युपिएस र एडेप्टर प्रयोग गर्न आग्रह गरेको छ। बत्ति गएको बेलामा एफटिटिएचको भ्वाइस सेवा अवरुद्ध नहोस् भनेर टेलिकमले यस्तो आग्रह गरेको हो।
बत्ति गएको समयमा इन्भर्टरको फुल व्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानहरुमा भ्वाइस सेवा प्रयोगमा असुविधा भएको पाइएको छ।
हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टर सहज रुपमा उपलब्ध हुने बताउँदै टेलिकमले यस्तो डिभाइस प्रयोग गर्नु उपयुक्त हुने बताएको हो।
राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन्। जुन विद्युत नहुँदा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन्।
एडेप्टरमा भएको ब्याट्री विद्युत हुँदा आफैं चार्ज हुन्छ भने नभएका बेला त्यही ब्याकअप पावर खपत हुन्छ। कम्पनीले वितरण गरिरहेको एफटिटिएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुन्छ।
यसकारण ग्राहकले आफ्नो सहजताअनुसार बजार वा अनलाइनबाट किन्न सक्छन्। टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफिटिटिएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा दिइरहेको छ।
निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने कम्पनीको तयारी छ।
हाल एफटिटिएच सेवामा विभिन्न प्याकेजहरु सस्तो दरमा दिइरहेको कम्पनीको भनाइ छ।