फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० शनिबार आयोजना हुने भएको छ। नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणका लागि बहस सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने उक्त कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि सहभागी हुने छन्।
ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा सरकार, नेपाल राष्ट्रबैंक, सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको सहकार्य छ । कार्यक्रममा आठवटा सत्र रहने छन्।
डिजिटल नेपाल, डिजिटल बैंकिंङ, डिजिटल रेमिट्यान्स, डिजिटल मार्केटप्लेस जस्ता विषयमा छुट्टाछुट्टै सत्र हुने छन्।
एपी वान टेलीभिजनमा विहान साढे ९ बजेदेखी बेलुका ६ बजेसम्म प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासंग सघन छलफल हुने आयोजकले जानकारी दिएको छ।
आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गजुरेलले कोभिड-१९ महामारीले थपेको जटिल परिस्थितीले डिजिटल प्रविधिको प्रयोग बढाउने अवसर दिएको र यही अवसरका बारेमा बृहत छलफल गर्नका लागि कन्क्लेभ आयोजना गरिएको बताए ।
“महामारीले एकातर्फ चुनौती थपेको छ तर यो समयलाई अर्को तर्फबाट अवसरको रुपमा लिएर डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ” उनले भने ।
निजी क्षेत्रबाट डिजिटल प्रविधिका क्षेत्रमा गरेको प्रयासमा सरकार तथा सरोकारवाला पक्षबाट भएको सहयोगले भने थप हौसला मिलेको उनले बताए ।