एप्पलले चर्चित चिनियाँ एप टिकटकमा आइफोनको प्रचार गरिरहेकाे छ।
केही महिनाअघि सार्वजनिक भएको आइफोन १२ मिनीको प्रचार गर्न एप्पल टिकटकमा सक्रिय भइरहेको एप्पल इन्साइडरले बताएकाे छ।
एप्पल इन्साइडरका अनुसार आइफोन १२ मिनी प्रचारको लागि एप्पलले टिकटकका लोकप्रिय प्रयोगकर्तासँग काम गरिरहेको छ।
सात महिनाअघि मात्रै एप्पलले आफ्नो आधिकारिक टिकटक अकाउन्ट बनाएको थियो। तर, अहिलेसम्म त्यो अकाउन्टमा केही पोष्ट गरिएको थिएन। भर्खरै मात्र आफ्नो नयाँ मार्केटिङ अभियानका लागि कम्पनीले यसमा ध्यान दिन थालेको हो।
एप्पलले चर्चित टिकटक प्रयोगकर्ता जेसिका वाङ, केभिन बी प्यारी, ज्याक किङ र जुलियन बास सँगको चार भिडियो आफ्नो अकाउन्टमा पोष्ट गरेको छ।
प्रत्येक भिडियोमा प्रयोगकर्ताले ज्याकेट, कपकेक जस्ता विभिन्न वस्तुलाई सानो आकारमा परिवर्तन गरेको देखिन्छ। अन्तिममा भने सबैले आइफोन १२ लाई सानो बनाएर आइफोन १२ मिनीमा परिवर्तन गरेका छन्।
यी भिडियोको मुख्य उद्देश्य मानिसलाई आइफोन १२ मिनी किन्न प्रोत्साहन गर्नु रहेको एप्पल इन्साइडरको भनाइ छ।
एप्पलले चारै भिडियोको क्यापसनमा ‘मेक इट मिनी’ लेखेर नयाँ ह्यासट्याग पनि सुरु गरेको छ।
यो अभियानपछि एप्पलको टिकटक अकाउन्टमा फलोअर्सको संख्या ह्वात्तै बढेको छ। अहिले कम्पनीले करिब तीन लाख भन्दा बढी टिकटक फलोअर्स कमाइसकेको छ।
यहीँ वर्षको सुरुमा ट्रम्प प्रशासन अन्तर्गत अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने प्रयास भइरहेको थियो।
जनावरीमा ह्वाइट हाउसमा जो बाइडेनको नयाँ प्रशासन आएपछि यो एपमा प्रतिबन्ध लगाउने वा नलगाउने बारे स्पष्ट जानकारी आएको छैन।