अमेरिकाले टिकटक आफूलाई बेच्नका लागि यसको मातृकम्पनी बाइटडान्सलाई समय थपिदिएको छ। टेक अखबार द भर्जका अनुसार बाइटडान्सलाई ट्रम्प प्रशासनले एक साता म्याद थपिदिएको हो।
अमेरिकाको वैदेशिक लगानी कम्पनी (सिएफआइयूएस)ले टिकटक बिक्रीका लागि डिसेम्बर ४ तारिखसम्मको समय दिएको छ।
यो अविधिमा बाइटडान्सले टिकटक अमेरिकालाई बेच्नुपर्ने, नभए देशबाट बाहिरिनु पर्ने भनेर दुई विकल्प दिएको द भर्जले बताएको छ।
गत अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्स र त्यसको एप टिकटक अमेरिकाको सुरक्षामा ठूलो खतरा रहेको बताएका थिए। त्यस लगत्तै ट्रम्प प्रशासनले टिकटक आफूलाई बेच्न आदेश दिइएको थियो।
पछि सेप्टेम्बरमा अमेरिकी वाणिज्य विभागले टिकटक डाउनलोड रोक्न आदेश जारी गरेको थियो। त्यो बेला ट्रम्पले अमेरिकी टेक कम्पनी ओराकल र वालमार्टसँगको साझेदारीलाई नयाँ अमेरिकी टिकटक, अर्थात् ‘टिकटक ग्लोबल’ बनाउने सम्झौता भएको बताएका थिए।
केही समयअघि टिकटकले यसबारे ट्रम्प प्रशासनबाट कुनै प्रतिक्रिया नपाएको बताएको थियो। त्यसपछि ट्रम्प प्रशासनले टिकटक बिक्री सम्झौताका लागि नोभेम्बर २७ सम्म समय थपेको थियो। उक्त म्याद पनि सकिएपछि हाल डिसेम्बर ४ सम्म म्याद थपिएको द भर्जले जनाएको छ।