फेसबुकको निरीक्षण बोर्डले सामाजिक प्लेटफर्मका पोस्ट विरुद्ध आएका मुद्दाहरू हेर्दै छ।
टेक हिन्दुस्तानका अनुसार फेसबुकका कन्टेन्ट निरीक्षण गर्ने ‘ओभरसाइट बोर्ड’ले प्लेटफर्ममा देखिएको नराम्रा कन्टेन्ट सम्बन्धी मुद्दा हेर्न लागेको हो।
फेसबुकले आफ्नो प्लेटफर्ममा आउने नराम्रा कन्टेन्ट निरीक्षण गर्न गत मे महिनामा ओभरसाइट बोर्ड स्थापना गरेको थियो। जहाँ बोर्डले सामाजिक प्लेर्टफर्ममा कस्ता कन्टेन्ट राख्न पाउने वा नपाउनेबारे सोसल मिडिया कम्पनीलाई आदेश दिन सक्छ।
गत अक्टोबरबाट खुलेको यस बोर्डले हालसम्म बीस हजार मुद्दाहरू प्राप्त गरेको टेक हिन्दुस्तानले बताएको छ। जसमध्ये बोर्डले अहिले ६ वटा नराम्रा कन्टेन्टमा काम गर्ने भनिएको छ।
ती कन्टेन्टहरु यस्ता छन्ः
१. मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले ट्वीट गरेको स्क्रिनसट, जहाँ उनले लेखेका थिए, ‘विगतमा भएका हत्या र मारकाटको कारण मुस्लिमहरुलाई फ्रान्सेली जनतामाथि हिंसा गर्ने अधिकार थियो।’
२. एक मृत बच्चाको फोटो सहितको पोष्ट जसमा चीनले युगुर मुसलमानहरुको व्यवहारमा टिप्पणी गरेका थिए।
३. अजरबैजानको बाकू स्थित चर्चका एतिहासिक फोटोहरु देखाउने पोष्ट, जहाँ क्याप्सनमा अजरबैजानी जनता माथि घृणा र अर्मेनियालाई भने समर्थन गरिएको थियो।
४. ब्राजिलमा स्तन क्यान्सरका लक्षणबारे जनचेतना फैलाउने भन्दै स्तनका पूरा भाग देखाउने इन्स्टाग्राम पोस्टहरु।
५. नाजीको प्रचार गर्ने मन्त्री जोसेफ गोबेल्सले अरुलाई आरोप लगाएको पोष्टहरु।
६. केही ड्रग्सले कोभिड निको पार्ने दाबी गरेको र फ्रान्सेली सरकारलाई आलोचना गर्ने एक फेसबुक ग्रुपका पोष्ट।
ओभरसाइट बोर्डले यी मुद्दाहरुमा काम गर्न बोर्डका पाँच सदस्यको प्यानल राख्ने टेक हिन्दस्तानको भनाइ छ।
फेसबुकका अनुसार यी ६ मुद्दामध्ये तीन वटा कन्टेन्टमा ‘हेट स्पिच’ समावेश भएको छ।
नोभेम्बरमा फेसबुकले पहिलो पटक ‘हेट स्पिच’ कन्टेन्टका संख्या खुलासा गरेको थियो। यो वर्षको पहिलो त्रैमासिकमा फेसबुकमा देखिएका दस हजार कन्टेन्ट मध्ये १० देखि ११ कन्टेन्टमा ‘हेट स्पिच’ समावेश भएको कम्पनीले बताएको थियो।
यस्ता ‘हेट स्पिच’ भएका मुद्दाहरु धेरै ध्यान दिनु पर्ने ओभरसाइट बोर्डका प्रवक्ताले बताएका छन्।