क्यानाडाकी मेलानी क्लयापहाम भालुहरूबारे अध्ययन गर्ने विज्ञ हुन्। उनले भालुबारे अध्ययन गर्न दशकौं खर्चेकी छन्। भालुका दैनिकी र हरेक गतिविधि उनी नियाल्छिन्।
डानी, लेनोर र बेला ब्रिटिस कोलम्बियाको एक नदी छेउ बस्ने भालुहरू हुन्। बाक्लो भुत्ला, एकै खाले गतिविधि गर्ने उनीहरू चिसो पानीमा खेल्न रूचाउँछन्। अनि माछा मार्दै खान्छन्। सामान्य व्यक्तिलाई ती भालुबीच कुनै फरक नलाग्न सक्छ। तर मेलानी ती हरेक भालुको विशेषताबारे जानकार छिन्।
'प्रत्यक भालुको विशेषता हुन्छ। एउटाको नाकमा घाउको दाग हुन सक्छ, अर्को कानमा हुन सक्छ। मान्छेको जस्तै सबैको भिन्नै पहिचान छ,' मेलानीले सिएनएनलाई भनेकी छन्।
हरेक वर्ष भालुहरूको शारीरिक बनावट परिवर्तन हुन्छ। तर यो सबैले याद गर्न सक्दैन। जीववैज्ञानिकहरू जनावरको त्यस्तै स-साना विवरण याद गर्ने गर्छन्। उनीहरूमा आउने परिवर्तनहरू ख्याल गर्छन्।
मेलानीका अनुसार भालुहरूबारे प्रत्यक विवरण राख्नु अध्ययन र यसको संरक्षणका लागि आवश्यक छ। कुन प्रजातिको भालु कति वर्ष बाँच्छ, कसरी बाँच्छ, मान्छेलाई कतिको क्षति गर्छ भन्ने बुझ्न पनि भालुहरूबारे अध्ययन जरूरी हुन्छ। तर सबै भालुको विवरण लेखेर अथवा याद गरेर मात्र साद्य छैन।
यसको समाधानका लागि मेलानीले केही वर्षअघि यी सब काम प्रविधिले सहज बनाउन सम्भव छ वा छैन भन्ने अध्ययन गर्न थालिन्। प्रविधिले मान्छेको पहिचान गर्न र उनीहरूको विवरण संकलन गर्न सरल बनाएको छ। अनुहारकै भरमा कुनै पनि व्यक्तिको पूर्ण विवरण निकाल्न सक्ने भइसकेको छ। त्यसैगरी भालुहरूको पनि विवरण राख्न सकिन्छ कि भन्ने मेलानीको सोचाइ थियो।
यसैका लागि मेलानीले सिलिकन भ्यालीका दुई प्राविधिकसँग सहकार्य गरिन्। उनीहरू मिलेर 'बियर आइडी' बनाए। यो प्रविधि अन्तर्गत भालुको अनुहारको विवरण अनुरूप उनीहरूको निगरानी गरिन्छ।
'बियर आइडी' प्रविधिले भालुको दैनिकी ट्र्याक गर्न मद्दत पुर्याएको छ। यसका लागि भालुलाई घाँटीमा कलर लगाइन्छ जसमा 'आरएफ-आइडी' ट्याग अड्याइएको हुन्छ। अथवा कानमा छेडिन्छ। यो ट्याग एक ट्र्याकिङ सिस्टम हो। अब भालुहरूले मान्छेले लगाएका खेतबालीमा के-कस्ता क्षति पुर्याए भन्ने पनि थाहा पाउन सकिन्छ।
सिएनएनका अनुसार अहिलेसम्म बियर आइडीको सहायतामा भालुहरूको ४ हजार ६ सय ७४ फोटो खिचिएको छ। यसमध्य ८० प्रतिशत फोटो प्रशिक्षणका लागि प्रयोग गरिएको छ भने बाँकी २० प्रतिशत परीक्षणका लागि प्रयोग गरिएको छ। हालै प्रकाशित अध्ययनले उक्त प्रणाली ८४ प्रतिशत सत्य देखाएको मेलानी बताउँछिन्।
भालुको संख्या र विवरणका लागि मात्र होइन, अहिलेसम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्रयोगमा १ सय २३ जनावर पहिचान गरी विवरण निकालिएको छ।
अर्कातर्फ जो हग्ल्यान्ड घरपालुवा जनावरको विवरण संकलन गर्ने नयाँ प्रविधि खोजिरहेका छन्। जो लेभेन्वर्थमा, कान्साइमा गाईवस्तु पाल्छन्। उनी अहिले 'क्याटल ट्र्याक्स' नामक एपको विकासमा लागिपरेका छन्। यो एपमार्फत कुनै पनि व्यक्तिले जिपिएस सहायतामा आफ्ना गाईवस्तु ट्र्याक गर्न सक्छन्। सिएनएनका अनुसार उनी यो एप सन् २०२० अन्त्यसम्ममा सार्वजनिक गर्ने योजनामा छन्।
बियर आइडी सुरू गरेकी मेलानी भालुको मात्र नभइ अरू जनावरको पनि अनुहारको विवरण आधारमा तथ्यांक संकलन र अभिलेख गर्नुपर्छ भन्नेमा लागेकी छन्।
'यो फेस रिकग्निसन प्रविधिले हामी कुनै पनि प्रजातिको जनावरको विवरण संकलन गर्न सक्छौं र त्यसलाई व्यवस्थित ढंगले राख्न सक्छौं,' उनले सिएनएनलाई भनेकी छन्।