नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला ‘सियुजी’ सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ।
कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो।
सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट https//learning.cehrd.edu.np चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन्।
यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने ९९ रूपैयाँ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ।
यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले निःशुल्क पाठशाला ‘सियुजी’ सिमकार्ड लिन सक्नेछन्।
कम्पनीका अन्ुसार प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्ने छ। तर विद्यार्थी र शिक्षकले चाहेमा पहिले प्रयोग गरिएको प्रिपेड सिमकार्डलाई पनि पाठशाला ‘सियुजी’मा आबद्ध गर्न पनि सकिने कम्पनीले बताएको छ।
नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन्।
विद्यार्थीको लागि सिमकार्ड लिँदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने छ। निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ।
नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयले माग अनुसार निःशुल्क पाठशाला ‘सियुजी’ सिम लिन सक्नेछन्।