एप्पलको नयाँ सफ्टवेयर अपडेटले आइफोनका ब्याट्री बिगारेको प्रयोगकर्ताको गुनासो छ।
एनडिटिभी टेकका अनुसार एप्पलको नयाँ आइओएस १४.२ अपडेटले गर्दा आइफोनमा ब्याट्री चाडैँ घट्ने समस्या आएको हो।
आइफोनका पुराना मोडल आइफोन एक्सआर, आइफोन एक्सएस, आइफोन एक्स, आइफोन ७ र आइफोन एसइमा यो समस्या आएको छ।
आइफोन बाहेक आइप्याडमा आइप्याडओएस १४.२ सफ्टवेयर अपडेट गर्दा पनि प्रयोगकर्ताले ब्याट्री चाडैँ घट्ने समस्या भोग्नु परेको एनडिटिभी टेकले बताएको छ।
एप्पल प्रयोगकर्ताले यी समस्या ‘एप्पल डेभेलोपर फोरम’मा उल्लेख गरिसकेका छन्। उनीहरुका अनुसार गत नोभेम्बर एप्पलले नयाँ आइओएस १४.२ सार्वजनिक गरेपछि ब्याट्रीको समस्या देखा परेको हो।
यो आइओएस अपडेट भएका आइफोन र आइप्याड तीस मिनेटभन्दा कम चलाउँदा पनि ब्याट्री पचास प्रतिशतले घट्ने एप्पल प्रयोगकर्ताको भनाइ छ।
कोहीले भने उपकरण रिस्टार्ट गरेपछि ब्याट्री फेरी एक्कासी बढ्ने बताएका छन्।
एप्पल प्रयोगकर्ताले नयाँ सफ्टवेयर अपडेटले गर्दा ब्याट्रीमा आउने समस्या भोग्नु परेको यो पहिलोपटक होइन।
केही समय अघि सार्वजनिक भएको आइओएस १४ मा पनि यही समस्या देखा परेको थियो।
हालै सार्वजनिक भएको आइफोन १२ मा पनि डिस्प्ले हरियो हुने, सिग्नल नदिने र ब्याट्री चाडैँ सकिने जस्ता समस्या देखिरहेको छ।
एप्पलले भने यी समस्या नयाँ सफ्टवेयर सार्वजनिक गरेर समाधान गर्ने वा अरु कुनै उपाय निकाल्ने बारे केही बोलेको छैन।