सामसङले तीन वटा नयाँ मोडलका फोल्ड-एबल स्मार्टफोन ल्याउने तयारी गरेको छ।
टेक अखबार दलेकका अनुसार सामसङले सन् २०२१ सम्म ओएलइडी प्यानल डिस्प्ले भएका फोल्डएबल फोन ल्याउने तयारी गरिरहेको हो।
कम्पनीले तीन वटा फोल्ड-एबल ओएलडी प्यानल बनाउन थालेको छ। यही कारण ओएलइडी अनुसन्धान कम्पनी ‘यूबिआइ रिसर्च’ले सामसङले तीन नयाँ फोल्डएबल फोन ल्याउन सक्ने अनुमान गरेको हो।
यूबिआइ रिसर्चले बताए अनुसार सामसङले ग्यालेक्सी जेड फ्लिप-२, ग्यालेक्सी जेड फोल्ड-३ र ग्यालेक्सी जेड फोल्ड लाइट उत्पादन गर्न सक्नेछ। यी तीनै मोडलमा एकदमै पातलो (अल्ट्रा थिन) ग्लास हुने बताइएको छ।
ग्यालेक्सी जेड फ्लिप-२ मा ६.७ इन्चको आन्तरिक स्क्रिन र ३ इन्चको बाहिरी स्क्रिन हुन सक्ने यूबिआइ रिसर्चले बताएको छ।
ग्यालेक्सी जेड फोल्ड-३ मा भने ७ इन्चको आन्तरिक स्क्रिन र ४ इन्चको बाहिरी स्क्रिन हुन सक्छ। यसमा प्रयोग हुने ग्लासको मोटाइ करिब ६० देखि १०० माइक्रोमिटर सम्मको हुने अनुमान छ।
यसैगरी ग्यालेक्सी जेड फोल्ड लाइटमा पनि ७ इन्चको आन्तरिक स्क्रिन र ४ इन्चको बाहिरी स्क्रिन हुन सक्ने यूबिआइ रिसर्चले अनुमान गरेको छ।
स्क्रिन फिचर उस्तै भए पनि यो स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड-३ भन्दा महँगो हुनेछ।
सामसङले ग्यालेक्सी जेड फोल्ड लाइट २०२१ को पहिलो महिना तिरै सार्वजनिक गर्न सक्ने दलेकले बताएको छ।
ग्यालेक्सी जेड फ्लिप-२ र ग्यालेक्सी जेड फोल्ड-३ भने सन् २०२१ अन्तिमतिर सार्वजनिक हुने बताइएको छ।