एप्पलले आइफोन–१२ को बक्सबाट चार्जिंग एडेप्टर र एयरफोन हटाइसकेको छ। अब भने कम्पनीले आउँदो आइफोनका बक्सबाट अझ बढी सामान हटाउन सक्ने टाइम्स अफ इन्डियाले बताएको छ।
टाइम्स अफ इन्डियाका अनुसार एप्पलले अर्को वर्ष ल्याउन सक्ने आइफोन–१३ मा मोबाइल बाहेक अरु सामान दिन नसक्ने अनुमान गरिएको हो।
हाल एप्पलले आइफोन–१२ प्रयोगकर्ताहरुका लागि एक सर्वेक्षण गरिरहेको छ, जहाँ उनीहरुलाई आइफोन १२ चलाउँदाको सम्रग अनुभव र त्यसमा चाहिने परिवर्तन बारे प्रश्न सोधिरहेको छ।
यही आधारमा कम्पनीले आइफोनमा नयाँ परिवर्तन ल्याउन खोजेको हो।
एप्पलले आउँदो आइफोनको बक्सबाट यूएसबी–सी केबल र लाइटनिंग केबल हटाउन सक्ने टाइम्स अफ इन्डियाले बताएको छ। यी दुई केबल मोबाइल चार्ज गर्न र डाटा ट्रान्सफर गर्न प्रयोग हुन्छ।
कम्पनीले बक्समा सिम निकाल्न प्रयोग हुने सानो उपकरण र एप्पलको स्टिकर पनि नराख्न सक्छ।
यस बाहेक एप्पलले नयाँ आइफोनमा दुवै टच आइडी र फेस आइडीको फिचर भने ल्याउन सक्ने बताइएको छ।
फेस आइडीले प्रयोगकर्ताको सुरक्षामा उठेको प्रश्न र यसले उपकरणमा पनि समस्या ल्याएको कारण एप्पलले यस फिचरमा ध्यान दिएर काम गर्ने ९टु५ म्याकको भनाइ छ।
एप्पलले टच आइडी फिचर फेरि ल्याउने भएपनि अबका नयाँ आइफोनमा डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर फिचर सार्वजनिक हुन सक्ने अनुमान छ।
यी सबै फिचरहरु आइफोन प्रयोगकर्ताको अनुभव अनुसार परिवर्तन गरिने टाइम्स अफ इन्डियाले बताएको छ।
यस अघि वातावरण संरक्षणको लागि एप्पलले आइफोन–१२ मा चार्जिंग केबल र एयरपड हटाएको थियो।