सामसङको नयाँ ग्यालेक्सी एस–२१ सिरिज अर्को वर्ष सार्वजनिक हुने बताइएको थियो। तर, हालै ती सिरिज भित्र पर्ने ग्यालेक्सी एस–२१ मोडल युटुबमा सार्वजनिक भएको टाइम्स अफ इन्डियाले बताएको छ।
टाइम्स अफ इन्डियाका अनुसार ‘अनलाइन स्टफ २’ नामक एक युटुब च्यानलमा सामसङको नयाँ ग्यालेक्सी एस–२१ प्लस मोडल सहित सबै फिचर देखाइएको छ।
सो भिडियोमा बताए अनुसार नयाँ ग्यालेक्सी एस–२१ मोडलमा निकै सानो बिजेल्स रहेको छ। बिजेल्स फोनको फ्रेम र स्क्रिन बीचको ठाँउमा हो।
मोबाइल स्क्रिनको ठिक माथि एउटा सेल्फी क्यामरा रहेको छ र पछाडी भने तीन वटा सेन्सर भएको क्यामरा देखिन्छ।
यो स्मार्टफोनमा क्वालकोमको ‘स्न्यापड्रैगन ८८८ एसओसी’ चिप्स राखिएको छ। यसले फोनको गतिलाई बढाउनुको साथै ब्याट्री पावर पनि बचत गराउने र राम्रो ग्राफिक्स दिने टाइम्स अफ इन्डियाको भनाइ छ।
सामसङले यो मोडल २०२१ जनवरी १४ मा सार्वजनिक गर्ने भनेको थियो। भारतमा भने यो जनवरी २८ सम्म आउन सक्ने अनुमान गरिएको थियो।
ग्यालेक्सी एस–२१ प्लस आउने कुरा सँगै पछिल्लो समय बजारमा यसको चर्चा निकै बढिरहेको छ।
कतिले ग्यालेक्सी एस–२१ सिरिजका तीनै मोडल कुन रंगको आउने समेत अनुमान लगाइसकेका छन्।
सामसङको ग्यालेक्सी एस–२१ खैरो, गुलाबी, बैजनी र सेतो रंगमा आउने भनिएको छ। त्यसैगरी ग्यालेक्सी एस–२१ प्लस गुलाबी, बैजनी, कालो र चाँदी रंगमा आउने छ।
अन्तिमा ग्यालेक्सी एस–२१ अल्ट्रा भने चाँदी रंग र कालोमा मात्र आउन सक्ने टाइम्स अफ इन्डियाले बताएको छ।
यी मोडलहरु बारे सामसङले भने अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।