कोजेन्ट हेल्थले भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ।
यो सेवाबाट विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गर्र्नुका साथै इसेवामार्फत् शुल्कसमेत भुक्तान गर्न सक्नेछन्।
अहिलेको विषम परिस्थितिमा ग्राहकले घरबाटै आफूले चाहेको अस्पताल र चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न र लाइन बस्दा हुन सक्ने जोखिम र झन्झटबिना नै उपचार तथा परामर्श लिन सकिन्छ।
हाल निदान अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र बीपी कोइराला नेत्र विज्ञान केन्द्रजस्ता प्रतिष्ठित निजी स्वास्थ्य संस्था यस प्लेटफर्ममा आबद्ध भइसकेका छन् भने दर्जनौं अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा शुरू हुने क्रममा रहेको कम्पनीले बताएको छ।