'हुवावे आइसिटी अवार्ड २०२०' को ग्राण्ड फिनाले कार्यक्रम आउँदो पुस ११ गते आयोजना हुने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न हुने आयोजकले बताएको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण भने विभिन्न टेलिभिजन, अनलाइनको माध्यमबाट गरिने आयोजकले जानकारी दिएको छ।
अवार्डको फाइनल कार्यक्रममा विभिन्न ११ विधामा सर्वोत्कृष्ट घोषणा गर्दै अवार्डसँगै पुरस्कारहरू प्रदान गरिनेछ । यस वर्षको आइसिटी अवार्ड २०२० मा स्वदेश तथा विदेशबाट ३५० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।
हुवावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी सदस्य रहेका छन् भने १४ जनाको विशिष्ट सल्लाहकार समिति रहेको छ । गत भदौ महिनादेखि शुरु भएको अवार्डको छनौट प्रक्रिया यस वर्ष भर्चुअल रूपमा सञ्चालन गरिएको छ । २५ भन्दा बढी भर्चुअल मिटिङ आयोजना भएको र छनौट प्रक्रियाको लागि उच्चतम रूपमा प्रविधिको प्रयोग गरिएको जुरी संयोजक सुशील पोखरेलले बताए ।
आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा भएको छ । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ ।