एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफूलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन्। एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा 'एनसेल जब-सप' सुरू गरेको छ।
यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो। यो अभियानले हालको विषम् परिस्थितिमा भविष्यको पुनर्विचार गर्दै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको कम्पनीले जनाएको छ।
एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने, 'कोरोना महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ। भर्चुअल रूपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ। कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसर खोज्ने प्रवृत्ति बढिरहेका बेलामा कामको खोजीमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौं।'
उनले थप भनेका छन्, 'अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जब-सपले काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर प्रदान गर्छ। यो सेवाले ठूलो महत्वराख्ने विश्वास लिएका छौं।'
महामारीको सबै क्षेत्रमा प्रभाव र धेरैले रोजगारीबाट गुमाउनु परेका बेलामा एनसेल जब-सप रोजगारीका अवसर खोजीमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजि रहेकालाई एक उत्तम सेवा हुने विश्वास कम्पनीले लिएको छ। सुरूवाती अवस्थामा शारीरिक रूपमा काम गर्ने श्रमिक/कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन्।
कम्पनीका अनुसार कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएसमार्फत सन्देश प्राप्त हुन्छ। एनसेल सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा प्रयोग गर्न सक्छन्।
सर्वप्रथम आफूले खोजिरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुरू गनुपर्ने हुन्छ। कामदार खोजिरहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनु पर्छ। जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रूपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जाने कम्पनीले जनाएको छ।
यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स१७१३७ह्यास डायल गरी वा एनसेलजबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा प्रयोग गर्न सक्नेछन्। काम दिने व्यक्ति वा रोजगारदाताका लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित ६ रूपैयाँ ३८ पैसा लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्ता सम्म रहनेछ।
त्यसैगरी कामको खोजीमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा लिन सक्नेछन्। काम खोजीमा रहेका व्यक्तिले कर सहित ३ रूपैयाँ ८३ पैसामा ३ दिनको प्याक खरिद गर्न सक्नेछन्। त्यसै अनुसार प्याकको समयसिमा भित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ।
ग्राहकले करसहित ८ रूपैयाँ ९४ पैसामा ७ दिनको र कर सहित ३८ रूपैयाँ ३१ पैसामा ३० दिनको समयसीमा रहेको प्याक लिन सक्नेछन्। अलि धेरै समयका लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसीमा रहेको प्याक करसहित क्रमशः १५३ रूपैयाँ २२ पैसा र २२९ रूपैयाँ ८४ पैसामा लिन सक्नेछन्।