हालै एप्पलले आफ्ना प्रयोगकर्ताका लागि आइओएस-१४ मा डाटा प्राइभेसी अपडेट ल्याएको छ। जसमा विज्ञापनकर्ताले एप मार्फत प्रयोगकर्तालाई सिधै ट्रयाक गर्न पाउने छैनन्।
प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राखेर एप्पलले यो नीति ल्याएको हो। तर, फेसबुक र अन्य कम्पनीहरू भने यसको विरोध गरिरहेको सिएनएनले लेखेको छ।
सिएनएनका अनुसार फेसबुकले सामाजिक सञ्जालमा आउने विज्ञापनबाट कमाइ गरिरहेको छ। एप्पलको नयाँ नीतिले साना व्यवसायीहरू मर्कामा पर्ने उसको भनाइ छ।
एप्पलको सो नीति अन्तर्गत विज्ञापनकर्ताले कसैलाई ट्रयाक गर्नुअघि अनुमति लिनु पर्ने हुन्छ। प्रयोगकर्ताले स्वीकार गरेपछि मात्र उनीहरूले विज्ञापन देखाउन सक्छन्।
फेसबुकका अनुसार आइओएसको डाटा प्राइभेसी अपडेटले गर्दा विज्ञापनकर्ताको व्यवसाय घाटामा जाने डर हुन्छ।
उक्त अपडेटको विरोध गर्दै बुधबार फेसबुकले एक कार्यक्रम गरेको थियो। उनीहरूले साना व्यवसायका लागि ‘स्पिक अप फर स्मल’ नामक ह्यास्ट्याग अभियान सुरू गरेका छन्।
सामाजिक सञ्जालमा यो ह्यास्ट्याग प्रयोग गरेर साना व्यवसायीहरूले अनलाइन विज्ञापनबाट आफूहरूलाई भएको सहयोग र योबिना हुने दुःखबारे आफ्नो कथा सेयर गर्न सक्ने फेसबुकको भनाइ छ।
साना व्यवसायीलाई बढावा दिनका लागि कम्पनीले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वासिङटन पोष्ट जस्ता ठूला राष्ट्रिय अखबारमा पनि पूरै पृष्ठ भरिने गरी विज्ञापन राखेको थियो।
यता एप्पलले भने कसैको गोपनीयता हनन गरेर व्यवसायमा पारदर्शिता नहुने बताएको छ।
एप्पलका सिइओ टिम कुकले यस विषयमा बोल्दै ट्वीटरमा लेखेका छन्, ‘प्रयोगकर्ताले आफ्नो डाटा कसरी संकलन गरेर प्रयोग भइरहेको छ भन्ने जानकारी पाउनु पर्छ। फेसबुकले एप र वेबसाइटबाट प्रयोगकर्तालाई ट्रयाक गर्न सक्छन्, तर आइओएस-१४ को एप ट्रयाकिङ ट्रान्सपरेसी नीतिबाट उनीहरूले सुरुमा अनुमति माग्नु पर्ने हुन्छ।’
एप्पलको अपडेटबाट प्रयोगकर्ताले आफुलाई ट्रयाक गरेको छ वा छैन र कस्ता डाटा संकलन गरिरहेको छ भनेर थाहा पाउन सक्ने सिएनएनले बताएको छ।
यस विषयलाई कसरी अगाडि बढाउने बारे यी दुई ठूला कम्पनीबीच अझै पनि कुनै टुंगो लागेको छैन।