गुगलले मोबाइलमा थ्रिडी जनावर हेर्न मिल्ने ‘अगमेन्टेड रियलिटी’ प्रविधि ल्याएको धेरै भएको छैन। कुनै पनि वस्तुलाई आफ्नो मोबाइल मार्फत वास्तविक दुनियाँमा राखेर हेर्न मिल्ने प्रविधिलाई ‘अगमेन्टेड रियलिटी’ भनिन्छ।
यही प्रविधिको मद्दतले अब गुगलबाट मेकअप गर्न सकिने भएको छ।
टेक हिन्दुस्तानका अनुसार अनलाइनमा मेकअपको सामान किन्नु अघि आफूलाई कस्तो देखिन्छ भनेर जाँच गर्न गुगलले यस्तो नयाँ फिचर ल्याएको हो।
यो फिचर मार्फत उपभोक्ताले अनलाइनबाट नै आफूलाई सुहाउँदो मेकअप सामान छानेर किन्न सक्छन्। प्रयोगकर्ताले विशेषगरी लिपस्टिक र आइस्याडो भर्चुअल रुपमा लगाउन सक्नेछन्।
यस फिचरको सुविधा पाउन सुरुमा प्रयोगकर्ताले आफ्नो रोजाइको मेकअप गुगलमा खोज्नु पर्ने हुन्छ। गुगल सर्चको माथिल्लो दायाँतिर ‘ट्राइ–अन’ नामक एक विकल्प देखिन्छ। जसमा क्लिक गरेपछि आफूले रोजेका मेकअप भर्चुअल रूपमा लगाउन सकिने टेक हिन्दुस्तानले बताएको छ।
प्रयोगकर्ताले आफ्नो क्यामराबाट नै मेकअप प्रयोग गर्न सक्ने छन्। यसमा आफूलाई कुन रंगको आइस्याडो राम्रो देखिन्छ भनेर हेर्न क्यामराको तलपट्टि सबै रंगको विकल्प दिइएको हुन्छ।
गुगलको यो फिचर स्न्यापच्याट र इन्स्टाग्रामको फिल्टर जस्तै हो। प्रयोगकर्ताले गुगलबाट भने मेकअपकै सामान क्यामराबाट लगाउन सक्छन् र मन परेको मेकअप अनलाइनबाटै किन्न पाउँछन्।
‘मेकअप सामान प्रयोग नगरी अनलाइनबाट किन्न धेरै गाह्रो हुन्छ। इन्टरनेटमा हेरेको भरमा नै आफूलाई कुन रंगको लिपस्टिक र आइस्याडो सुहाउँछ थाहा हुँदैन,’ गुगलले आफ्नो ब्लग पोष्टमा लेखेको छ, ‘त्यसैले प्रयोगकर्ताले घर बसेर हजारौं मेकअप प्रयोग गर्न सकून् भन्ने उद्देश्यले हामीले यो प्रविधि ल्याएका हौं।’
गुगलले मोडिफेस र पर्फेक्टकर्प नामक कम्पनीसँगको सहकार्यमा यो फिचर सार्वजनिक गरेको हो।
गुगलका अनुसार यो फिचरबाट प्रयोगकर्ताले लोरियल, म्याक कस्मेटिक्स, ब्ल्याक ओपल र चार्ललोट टिलबरी जस्ता ठूला कस्मेटिक्स ब्रान्डका मेकअप सामान प्रयोग गर्न सक्छन्।