इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजन तथा भिडिओ कन्टेन्टमा क्लिनफिड लागू नभएकाले नेपालमा प्रसारण रोक्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।
अधिवक्ता विश्वेश्वर प्रसाद गौतमले क्लिनफिड लागू नभएका मोबाइल एप्लिकेशन, एन्ड्रोइड आइपी टिभी, युटुब तथा फेसबुकको माध्यमबाट प्रासरण हुने प्रसारणमाध्यममाथि तत्काल रोक्न माग गर्दै अदालतमा निवेदन दिएका छन्।
गौतमले क्लिनफिड कानूनको उलंघन हुनेगरी नेपालमा वेब तथा एप्लिकेशनबाट निर्वाध रुपमा टेलिभिजन विदेशी विज्ञापनसहित प्रसारण भइरहेको र यसको नियमनका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुनै पनि नियमन गरेको दाबी गरेका छन्।
अन्तरिम आदेश मार्फत् यस्ता प्रसारण तत्काल रोक्नका लागि परमादेश तथा अन्य उपयुक्त आदेश माग गर्दै दायर भएको उक्त निवेदनमा नेपालमा आइपी टिभीमा पनि निर्वाध विदेशी विज्ञापन सहितका च्यानल प्रासरण भइरहेको दाबी गरिएको छ।
सरकारले गएको कात्तिक ७ गतेदेखि नेपालमा क्लिनफिड लागू गरेको थियो। क्लिनफिड लागू भएपछि केवल तथा डिटिएचबाट प्रसारण हुने टिभीमा विज्ञापन नआएपनि इन्टरनेटको माध्यमबाट प्रासरण हुने सेवामा भने अहिले पनि विज्ञापन आइरहेको छ।
यही कारणले गर्दा व्यवसाय घटेको भन्दै केवल व्यवसायी तथा टेलिभिन सञ्चालकहरु पनि ओटीटीहरुलाई नियमन गर्नुपर्ने माग गर्दै आएका छन्।